
एजेन्सी । इजरायलले बुधबार गाजामा हमासको सैन्य शाखाका नयाँ प्रमुख मोहम्मद ओदेहलाई अघिल्लो दिनको आक्रमणमा मारेको बताएको छ । यसअघि यसै महिना उनीभन्दा अगाडिका प्रमुखलाई पनि इजरायलले यस्तै आक्रमणमा मारेको थियो ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने, ‘गाजामा हमास आतंकवादी संगठनको सैन्य शाखाका कमान्डरलाई हिजो समाप्त गरियो र उनलाई नर्कको गहिराइमा रहेका आफ्ना साथीहरूलाई भेट्न पठाइयो ।’
‘प्रधानमन्त्री र मेरो व्यक्तिगत तर्फबाट यो उत्कृष्ट कारबाहीका लागि इजरायली रक्षा बल (आईडीएफ) र सिन बेटलाई बधाई छ,’ काट्जले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
‘हामीले अक्टोबर ७ को नरसंहारको नेतृत्व गर्ने सबैलाई समाप्त गर्ने प्रतिबद्धता जनाएका थियौं र हामी त्यही गर्नेछौंः तिनीहरू जहाँ भए पनि मृत्युका लागि चिन्हित छन् ।’
मंगलबारको आक्रमणको घोषणा गरेपछि काट्ज र प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक संयुक्त विज्ञप्तिमा ओदेहले अक्टोबर ७ को नरसंहारको समयमा हमास इन्टेलिजेन्सको प्रमुखको रूपमा काम गरेका थिए र करिब एक हप्ताअघि उनलाई एजेदिन अल–हदादको उत्तराधिकारी नियुक्त गरिएको थियो भनेका छन् ।
हदादलाई मे १५ मा इजरायली आक्रमणमा मारिएको थियो ।
‘ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइते बनाउन जिम्मेवार थिए,’ काट्ज र नेतन्याहूले भने ।
इजरायलमा हमासको २०२३ अक्टोबर ७ को आक्रमणपछि नेतन्याहूले यसका पछाडि रहेका नेताहरूलाई लक्षित गर्ने र समाप्त गर्ने वाचा गरेका थिए ।
आधिकारिक इजरायली तथ्यांकमा आधारित एएफपीको गणना अनुसार उक्त आक्रमणमा १२ सय २१ जनाको मृत्यु भएको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालय (जुन हमासको अधीनमा छ) का अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ७२ हजार ८ सय ३ जनाको ज्यान गएको छ ।
इजरायलले यसअघि हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानिया र गाजा प्रमुख याह्या सिनवारलाई मारिसकेको छ । उनलाई अक्टोबर ७ को आक्रमणको मुख्य योजनाकार मानिन्थ्यो ।
यसका साथै इजरायलले हमासको सैन्य शाखा एजेदिन अल–कसाम ब्रिगेडका लामो समयदेखिका कमान्डर मोहम्मद दाइफ र आफ्ना दाजु याह्या सिनवारको उत्तराधिकारी बनेका गाजा प्रमुख मोहम्मद सिनवारलाई पनि मारेको छ ।
इजरायली आक्रमणहरूले लेबननमा रहेका हमासका सदस्यहरू र हमाससँग मिलेर काम गरिरहेका इरान समर्थित हिजबुल्लाहका वरिष्ठ कमान्डरहरूलाई पनि लक्षित गरेका छन् जसमा पूर्व हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि समावेश छन् ।









प्रतिक्रिया