जोखिम न्यूनीकरणको कुरा चले पनि चीनमा व्यापार गर्न इच्छुक युरोपेली कम्पनीहरू

42
Shares

एजेन्सी । चीनमा रहेको युरोपेली संघ (ईयू) चेम्बर अफ कमर्सले बुधबार सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार, विश्वव्यापी रूपमा प्रतिस्पर्धी रहन धेरै युरोपेली कम्पनीहरूले मुख्यभूमि चीनमा आफ्नो आपूर्ति श्रृंखलालाई कायम राख्दै वा विस्तार गर्दैछन् ।

झण्डै एक तिहाइ उत्तरदाताहरूले आफूहरू चीनमा अझ बढी अनशोरिङ (उत्पादन र स्रोतहरू स्थानीयकरण गर्ने प्रक्रिया) भइरहेको बताएका छन् भने ३७ प्रतिशतले विगत दुई वर्षमा आफ्नो आपूर्ति श्रृंखला रणनीतिमा कुनै परिवर्तन नगरेको रिपोर्टमा उल्लेख छ ।

यो सर्वेक्षण जनवरीदेखि फेब्रुअरीसम्म संकलन गरिएका झण्डै ३०० सदस्यहरूको प्रतिक्रियामा आधारित थियो जो आफ्ना कम्पनीको मुख्यभूमि चीनको आपूर्ति श्रृंखला रणनीतिहरूसँग परिचित थिए ।

कुल मिलाएर ६८ प्रतिशत उत्तरदाताहरूले चीनमा आफ्नो कार्य सञ्चालनलाई कायम राख्ने वा विस्तार गर्ने बताएका छन् ।

यसको तुलनामा केवल ७ प्रतिशतले मात्र उद्योगका लागि स्रोतहरू देश बाहिर लैजाने वा अन्य ठाउँमा वैकल्पिक उत्पादन केन्द्रहरू स्थापना गर्ने बताएको रिपोर्टले जनाएको छ ।

‘हामी डि–रिस्किङ (जोखिम न्यूनीकरण) कुनै मुख्य विषय बनेको देख्दैनौं,’ चीनस्थित ईयू चेम्बर अफ कमर्सका अध्यक्ष जेन्स एस्केलुन्डले भने ।

‘यसले बरु के संकेत गर्छ भने युरोपेली कम्पनीहरू आफ्ना उत्पादनका लागि स्रोत र निर्माण स्थलका रूपमा चीनमा अझ बढी निर्भर भइरहेका छन्,’ उनले भने ।

अमेरिका र ईयूले लगाएको भन्सार महसुलका बाबजुद विश्वभर उत्पादन हुने सामानको करिब २८ प्रतिशत हिस्सा चीनको छ । युरोपेली संघले चीनको व्यापारिक अभ्यासहरूको निगरानी बढाइरहेको बताइएको छ । युरोपेली आयोगले सीएनबीसीको टिप्पणीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएन ।

आपूर्ति श्रृंखला सम्बन्धी प्रश्नमा प्रतिक्रिया दिने ईयू चेम्बरका करिब २४ प्रतिशत सदस्यहरूले चीनमा विस्तार गर्ने र अन्यत्र पनि वैकल्पिक आपूर्तिकर्ताहरू स्थापना गरेर विविधीकरण गरिरहेको बताएका छन् ।

यस परिवर्तनले विश्वव्यापी ढुवानी र व्यवस्थापन कम्पनीहरूले कसरी काम गर्छन् भन्ने कुरालाई पनि बदलिरहेको छ ।

स्विट्जरल्यान्डको ढुवानी कम्पनी कुइने+नागेलका समुद्री ढुवानीका कार्यकारी उपाध्यक्ष माइकल एल्डवेलले भने, ‘चिनियाँ कम्पनीहरू विश्वव्यापी रूपमा विस्तार भएसँगै वैदेशिक आपूर्ति श्रृंखलाहरूमा आफ्नो नियन्त्रण बढाइरहेका छन् ।’

‘हाम्रो उद्योगमा यस्तो व्यापार बढिरहेको देख्छौं जुन चीनबाटै नियन्त्रित, निर्धारित, ढुवानी र भुक्तानी हुन्छ,’ एल्डवेलले सीएनबीसीको स्कक बक्स एसियालाई बताए । उनले यी क्षेत्रहरूमा विद्युतीय सवारीसाधन, ब्याट्री र उपभोक्ता इलेक्ट्रोनिक्स समावेश रहेको थपे ।

‘हामीले मुख्यतया यस्तो प्रवृत्ति देख्छौं जहाँ चीनमा आधारित आपूर्ति श्रृंखला व्यवस्थापन संस्था गन्तव्य बजार भन्दा बढी परिपक्व हुन्छ वा जहाँ कुनै उद्योगमा तीव्र परिवर्तन भइरहेको हुन्छ, त्यहाँ चिनियाँ कम्पनीहरूले त्यो आपूर्ति श्रृंखलामा नियन्त्रण लिन रोजिरहेका छन् ।’

युरोपेली कम्पनीहरूले चीनमा उत्पादन बढाउनुको मुख्य कारण लागत रहेको ईयू चेम्बरको सर्वेक्षणले फेला पारेको छ ।
चीनको तुलनात्मक रूपमा कम श्रम लागतले यसलाई विश्वव्यापी निर्माण केन्द्रको रूपमा स्थापित गर्न मद्दत गरेको छ । तर, कारखानाहरूले कामदारको अभाव सामना गर्न थालेपछि धेरैले द्रुत रूपमा स्वचालित प्रविधि अपनाएका छन् ।

‘स्वचालित प्रविधिका कारण श्रमको लागत, जुन पहिले नै कम हुन सक्थ्यो, अब आफैंमा असान्दर्भिक बन्दैछ,’ ईयू चेम्बरलाई सर्वेक्षण तयार गर्न मद्दत गर्ने परामर्शदाता कम्पनी रोलान्ड बर्जरका ग्लोबल म्यानेजिङ डाइरेक्टर डेनिस डिपोले भने ।

‘दुई वर्षअघिको तुलनामा स्वचालित प्रविधिको स्तरमा आएको भिन्नता आश्चर्यजनक छ । अब त्यहाँ कोही मानिस देखिँदैनन्,’ उनले यसै हप्ता एक निजी चिनियाँ तामा निर्माण कम्पनीको भ्रमणलाई सन्दर्भ गर्दै भने ।

स्वचालित प्रविधि सुरुमा मानव श्रम भन्दा महँगो हुन सक्छ तर कारखानाहरूले अन्ततः उत्पादनहरू अझ छिटो बनाउन सक्छन्, डिपोले थपे ।

उदाहरणका लागि, युरोपमा विस्तार भएको चिनियाँ विद्युतीय सवारीसाधन निर्माता नियोले बताएअनुसार, चीनमा रहेको यसको एउटा कारखाना ९४१ रोबोटहरूको सहयोगमा चल्छ जसले उत्पादन क्षेत्रमा कामदार विना नै एकैसाथ धेरै सवारी मोडलहरूमा पूर्ण रूपमा स्वतन्त्र रूपमा काम गर्न सक्छन् । यस व्यवस्थाले कारखानालाई चौबीसै घण्टा सञ्चालन गर्न अनुमति दिन्छ ।

यो सबै स्थानीय निर्माण पारिस्थितिकी प्रणालीको हिस्सा हो जहाँ औद्योगिक ऊर्जाको मूल्य र कच्चा पदार्थको लागत कम छ, रोलान्ड बर्जरले मार्चको एक रिपोर्ट ‘चीनको लागत र गतिको फाइदाः पश्चिमी कम्पनीहरूका लागि एक चेतावनी’ मा उल्लेख गरेका छन् ।

मूल्यका विषयमा आपूर्तिकर्ताहरूसँग गरिने त्रैमासिक वार्ता र छनोटपूर्ण राज्य अनुदानले प्रायः चिनियाँ उत्पादनहरूलाई विश्वव्यापी बजारमा चाँडो र धेरै कम लागतमा पुग्न मद्दत गर्ने रिपोर्टले थपेको छ ।

चीनमा रहेका ईयू कम्पनीहरूमध्ये करिब तीन–चौथाइले अन्य ठाउँका तुलनामा चीनमा रहेका आफ्ना उत्पादन सुविधाहरू बढी कुशल रहेको बताएका छन् ।

‘आज धेरैजसो उद्योगहरूमा तपाईंसँग कम्तीमा एक चिनियाँ प्रतिस्पर्धी वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी हुन्छन् जसले चिनियाँ आपूर्ति श्रृंखलाको फाइदा उठाइरहेका हुन्छन्,’ एस्केलुन्डले भने ।

‘त्यसैले मलाई लाग्छ धेरै उद्योगहरूमा तपाईं मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुन चाहनुहुन्छ भने, तपाईंले केवल चिनियाँ आपूर्ति श्रृंखलाको हिस्सा बन्न आवश्यक छ,’ उनले भने, ‘यो आवश्यक छैन कि तपाईं चीनमै उत्पादन गर्न चाहनुहुन्छ भनेर मात्र यसो गरिएको हो, यो त प्रतिस्पर्धामा टिक्ने बाध्यता हो ।’