
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा अब दैनिक रुपमा उपलब्ध गराउने भएको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने उक्त सुविधाको समयसीमा र प्रक्रियामा परिमार्जन गरिएको जानकारी दिएको हो ।
नयाँ व्यवस्था अनुसार २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र यो सुविधा उपलब्ध गराइनेछ । यसअघि यस्तो सुविधा सातामा २ दिन मात्र उपलब्ध हुने गरेको थियो ।
सूचनामा उल्लेख भएअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले राखेको यस्तो निक्षेपको साँवा तथा ब्याज रकम भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ । राष्ट्र बैंकको जेठ १२ गतेको निर्णयानुसार यो व्यवस्थामा परिमार्जन गरिएको हो ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न र अल्पकालीन ब्याजदरलाई कोरिडोरभित्रै राख्न राष्ट्र बैंकले यो उपकरण प्रयोग गर्दै आएको छ ।





प्रतिक्रिया