
एजेन्सी । दक्षिण इरानमा अमेरिकी सैन्य कारबाही र तेहरानसँगको वार्तालाई लिएर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका विरोधाभासपूर्ण अभिव्यक्तिका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा मंगलबार मिश्रित प्रभाव देखिएको छ ।
एसियाली कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतले वृद्धि भई प्रतिब्यारल ९८.२६ डलर पुगेको छ । यसको विपरीत, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्यमा भने ५.१ प्रतिशतको गिरावट आएर प्रतिब्यारल ९१.७३ डलर कायम भएको छ ।
तेलको मूल्यमा देखिएको यस भिन्नतालाई विश्लेषण गर्दै ई–टोरो नामक संस्थाका बजार विश्लेषक जेभियर वोङले ब्रेन्ट क्रुडको मूल्य पश्चिम एसियाको अवस्थासँग प्रत्यक्ष जोडिने बताएका छन् । उनका अनुसार, हर्मुज जलयोजकमा हुने कुनै पनि अवरोधको सीधा असर ब्रेन्टमा पर्छ । त्यसले ब्रेन्ट कच्चा तेललाई महँगो बनाउँछ ।
अर्कोतर्फ, डब्लुटीआईले मुख्यतया अमेरिकी घरेलु आपूर्ति र मौज्दातको अवस्थालाई प्रतिनिधित्व गर्छ जहाँ पछिल्ला केही हप्तादेखि तेलको मौज्दात बढिरहेको छ ।
यसैबीच अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा आत्मरक्षाका लागि भन्दै केही स्थानमा आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, इरानी सेनाले खानी बिछ्याउने प्रयास गरेका जहाजहरू र मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गरी सो कारबाही गरिएको हो ।
आफ्ना सैनिकहरूमाथि इरानी बलबाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै यो कदम चालिएको अमेरिकी दाबी छ ।
शान्ति वार्ताको प्रयास भइरहँदा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले बजारलाई थप अन्योलमा पारेको छ । उनले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट र जोर्डनलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने अब्राहम एकर्ड्समा सहभागी हुन प्रोत्साहन गरेको बताएका छन् । पाकिस्तानले यसलाई अस्वीकार गरेको बताइएको छ ।
इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए पनि ट्रम्पले वार्ता असफल भएमा पुनः सैन्य कदम चाल्ने चेतावनी समेत दिएका छन् । उनले सबैका लागि फाइदाजनक उत्कृष्ट सम्झौता नभए कुनै पनि सम्झौता नगर्ने अडान राखेका छन् ।
स्विट्जरल्यान्डको बहुराष्ट्रिय लगानी बैंक यूबीएसले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, विश्वव्यापी तेल बजारमा चरम अभावको संकेत देखिन थालेको छ । हर्मुज जलयोजक हुँदै हुने ढुवानीमा अवरोध आएपछि तेलको मौज्दात लगातार घटिरहेको छ ।
गत चैत र वैशाख महिनामा मात्रै विश्वको तेल मौज्दातमा २४ करोड ६० लाख ब्यारल गिरावट आएको छ ।
यूबीएसका अनुसार, जेठ महिनाको अन्त्यसम्ममा तेल उत्पादनमा हुने कुल घाटा १ अर्ब ब्यारल नाघ्न सक्ने देखिएको छ । जमिनमा राखिने तेल र प्रशोधित तेलको मौज्दात घटेका कारण बजारमा आपूर्तिको ठूलो अभाव देखिएको छ । तर, अमेरिकाबाट एसियातर्फ पठाइने तेलको मार्ग परिवर्तन भएका कारण ट्यांकरहरूमा थुप्रिएको तेलको मात्रा भने बढेको पाइएको छ ।





प्रतिक्रिया