
एजेन्सी । ताइवानमा आगामी स्थानीय निकायको चुनावका लागि एक उम्मेदवारले नो इन्ट्री (प्रवेश निषेध) चिह्नसहित फेटा बाँधेको मानिस देखाइएको होर्डिङ बोर्डहरू राखेपछि सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ ।
राजनीतिक उम्मेदवार ली हङ–यीले शहरको स्याओगाङ जिल्लाको शानमिङ रोडमा एउटा विवादास्पद बोर्ड राखेका छन् । निषेध चिह्नको मुनि फेटा बाँधेको मानिसको तस्बिर र भारतको उल्टो झण्डा छ । ताइवानमा भारतीय आप्रवासनमा प्रतिबन्ध लगाउने त्यसमा वाचा गरिएको छ । यो ली हङ–यीले गरेका धेरै वाचाहरूमध्ये एक हो ।
हङ यी हाल शहरको स्याओगाङ जिल्लाको गाङमिङ वडाका अध्यक्ष हुन् । उनले नोभेम्बरमा हुने नगर परिषद्को चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्दैछन् । यी तस्बिरहरू ताइवानी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।
‘स्पष्ट रूपमा यसको अर्थ म भारतीय आप्रवासी कामदारहरू भित्र्याउने कुराको विरोध गर्छु । म होर्डिङ बोर्ड हटाउने छैन । सबैलाई आफ्नो राय राख्ने अधिकार छ,’ उम्मेदवारले एक स्थानीय समाचार च्यानललाई भने ।
भारतीय समुदायका सदस्यहरूले होर्डिङ बोर्ड अपमानजनक पाएका छन् र विज्ञापनमा देखाइएको फेटाले समग्र भारतीयहरू भन्दा पनि विशेष गरी सिख धर्मका अनुयायीहरूको प्रतिनिधित्व गरेको औंल्याएका छन् । यस सन्देशले आप्रवासी कामदारहरूको बारेमा नकारात्मक रूढिवादी धारणालाई बलियो बनाउन सक्ने चिन्ता छ ।
स्थानीय सञ्चारमाध्यमले सोधपुछ गर्दा लीले आफू सामान्यतया आप्रवासी कामदारको विरुद्धमा नभई भारतीय कामदारको मात्र विरोधमा रहेको बताएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । यस भनाइको ताइवानका सबैभन्दा लामो समयसम्म सेवा गरेका पूर्व विदेशमन्त्री र राष्ट्रिय सुरक्षा परिषद्का वर्तमान महासचिव जोसेफ वुले तत्कालै कडा आलोचना गरे ।
‘एक स्थानीय राजनीतिकर्मीले ध्यान खिच्नका लागि यस्तो गरेको देख्दा मलाई लाज लागेको छ । म यस्तो स्वागतयोग्य समाजमा यस्तो घृणित आचरणको निन्दा गर्छु । म ताइवान–भारत आपसी सहयोगलाई सुदृढ गर्न कडा मिहिनेत जारी राख्नेछु,’ वुले भने ।
पछिल्लो चार वर्षदेखि ताइवानमा बसोबास गर्दै आएका र नाम नखुलाउन अनुरोध गर्ने एक भारतीय इन्जिनियरले भारतविरोधी भावना धेरै हदसम्म सामाजिक सञ्जालमा मात्र सीमित रहेको र यसले दैनिक जनजीवनमा असर नपारेको बताए ।
‘हामीले यहाँ कसैबाट पनि प्रत्यक्ष जातिवादको सामना गरेका छैनौं । तर, हामी निश्चित रूपमा सामाजिक सञ्जालमा त्यो सूक्ष्म प्रभाव महसुस गर्न सक्छौं जहाँ स्वार्थ समूहहरूले फैलाएका जातिवादी पोस्टहरूमा भारतीयहरूलाई लक्षित गरिएको छ । यो उम्मेदवारले युवा मतदाताहरूलाई आकर्षित गर्न त्यही प्रवृत्तिबाट फाइदा उठाउन खोजिरहेको देखिन्छ,’ उनको भनाइ उद्धृत गरिएको छ ।
राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार, हाल ताइवानमा ७ हजारभन्दा बढी भारतीयहरू बसोबास गर्छन् । उनीहरू टापुको नवौं ठूलो विदेशी निवासी समूह बनेका छन् । उनीहरूका अनुसार, होर्डिङ बोर्डहरू चिन्ताजनक छन् तर पूर्ण रूपमा अचम्म लाग्ने खालका भने छैनन् ।
‘यो ताइवानमा टिकटक र थ्रेड्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा भारत विरोधी प्रचारको विस्तार जस्तो देखिन्छ जुन भारतको हित विरूद्ध काम गर्ने निश्चित देशहरूद्वारा फैलाइएको छ,’ राष्ट्रिय ताइवान विश्वविद्यालयका सामुद्रिक विज्ञान अनुसन्धान विद्वान अर्पिता विश्वासले भनिन् । उनी विगत पाँच वर्षदेखि त्यहाँ बसोबास गर्दै आएकी छिन् ।
भारतमा ताइवानको मुख्य प्रतिनिधि कार्यालय ताइपेई इकोनोमिक एन्ड कल्चरल सेन्टरले भारतीयहरू लक्षित भेदभावपूर्ण टिप्पणीहरूको कडा निन्दा गरेको छ ।
“ताइवान लामो समयदेखि भारतीय आप्रवासी कामदारहरू भित्र्याउने योजनामा प्रतिबद्ध छ । ताइवानका केही व्यक्तिहरूले हालै गरेका भेदभावपूर्ण प्रकाशन/टिप्पणीहरूको सम्बन्धमा, हामी गम्भीरताका साथ स्पष्ट पार्छौं कि यस्ता पक्षपाती टिप्पणीहरूले हाम्रो दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैनन् । ताइवानले लोकतन्त्र, समावेशिता र विविधताको मूल्यलाई सम्मान गर्दछ र ताइवान र भारतबीचको जनस्तरको आदानप्रदानलाई समर्थन गर्छ । हामी कुनै पनि प्रकारको पूर्वाग्रह, जातिवाद र भेदभावप्रति गहिरो खेद व्यक्त गर्छौं र कडा निन्दा गर्छौं । टीईसीसी आपसी समझदारी बढाउन दुवै पक्षबीच थप आदानप्रदानको अपेक्षा गर्छ र यसलाई बढावा दिन जारी राख्नेछ,’ आधिकारिक विज्ञप्तिमा भनिएको छ ।









प्रतिक्रिया