
एजेन्सी । रुसले हाइपरसोनिक ओरेश्निक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने भनी युक्रेनी वायुसेनाले चेतावनी दिएको केही समयपछि नै आइतबार बिहानै राजधानी किएभमा मिसाइल र ड्रोनको ठूलो आक्रमण भएको छ ।
वायुसेनाले आफ्नो टेलिग्राम च्यानलमा ओरेश्निक प्रहारको खतरा रहेको जानकारी दिएको केही समयपछि स्थानीय समय अनुसार बिहान १ बजेपछि शहरभरि विस्फोटका आवाजहरू गुन्जिएका थिए ।
किएभका मेयर भिटाली क्लिट्स्कोले कम्तीमा तीनजना घाइते भएको र शहरका धेरै आवासीय भवनहरूमा क्षति पुगेको टेलिग्राम मार्फत बताएका छन् ।
उनले शहरको केन्द्रमा रहेको एउटा विद्यालयको परिसरमा मिसाइलका टुक्राहरूका कारण आगो लागेको कुरा पनि उल्लेख गरे ।
शनिबार मात्र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन, अमेरिका र युरोपको गुप्तचर सूचनालाई उद्धृत गर्दै रुसले ओरेश्निक मिसाइल प्रयोग गरेर युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए ।
ओरेश्निक मिसाइलले कुनै लक्ष्यमा प्रहार गरेको छ कि छैन भन्ने विषयमा युक्रेनी वायुसेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
रुसले यसअघि नै ओरेश्निक मिसाइलबाट युक्रेनमाथि दुईपटक आक्रमण गरिसकेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यो मिसाइल ध्वनिको गतिभन्दा १० गुणा बढी वेगमा चल्ने भएकाले यसलाई बीचैमा रोक्न (इन्टरसेप्ट गर्न) असम्भव रहेको दाबी गर्दै आएका छन् ।
पूर्वी युक्रेनको रुस नियन्त्रित लुहान्स्क क्षेत्रमा रहेको एक विद्यार्थी छात्रावासमा भएको ड्रोन आक्रमणको प्रतिशोध लिन पुटिनले आफ्नो सेनालाई विकल्पहरू तयार गर्न आदेश दिएपछि जेलेन्स्कीको यस्तो चेतावनी आएको हो । युक्रेनी सेनाले भने आफूहरूले रुसी ड्रोन कमान्ड युनिटलाई निशाना बनाएको बताएको थियो ।









प्रतिक्रिया