
एजेन्सी । इरानी फुटबल महासंघका अध्यक्षले शनिबार फिफाबाट अनुमति पाएपछि टोलीको विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिको सारिएको बताएका छन् ।
इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले महासंघको सञ्चार सम्बन्ध अधिकारीमार्फत जारी गरिएको विज्ञप्तिमा शनिबार उक्त निर्णयको घोषणा गरेका हुन् । फिफाले भने यो स्थानान्तरणको अझै पुष्टि गरेको छैन ।
इरानको प्रशिक्षण अमेरिकाको टक्सन, एरिजोनामा हुने तय भएको थियो । तर, पश्चिम एसियामा जारी युद्धको अनिश्चितता र सुरक्षा चिन्ताका कारण स्थान परिवर्तनको सम्भावना रहँदै आएको थियो । टक्सनको किनो स्पोर्ट्स कम्प्लेक्सका अधिकारीहरूले एसोसिएटेड प्रेसले सोधेको प्रश्नमा कुनै टिप्पणी गर्न चाहेनन् ।
महासंघका अनुसार, अब टोली सान डिएगोको ठीक दक्षिणमा पर्ने मेक्सिकोको तिजुआनामा रहनेछ ।
यस वर्षको विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म सञ्चालन हुँदैछ र यसको संयुक्त आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्दैछन् ।
‘विश्वकपमा सहभागी हुने देशका सबै टोलीका आधार शिविरहरू (बेस क्याम्प) फिफाद्वारा अनुमोदित हुनुपर्छ,’ ताजले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘सौभाग्यवश, हामीले बुझाएका अनुरोधहरू र इस्तानबुलमा फिफा तथा विश्वकप अधिकारीहरूसँग गरेका बैठकहरू, साथै हिजो तेहरानमा फिफाका आदरणीय महासचिवसँग भएको वेबिनार बैठकपछि, टोलीको आधार शिविर अमेरिकाबाट मेक्सिकोमा परिवर्तन गर्ने हाम्रो अनुरोध स्वीकृत भएको छ ।’
इरानले समूह जी अन्तर्गतका खेलहरू जुन १५ मा न्युजिल्यान्ड र जुन २१ मा बेल्जियमसँग लस एन्जलसमा खेल्नेछ । त्यसपछि जुन २६ मा सिएटलमा इजिप्टको सामना गर्नेछ । इरान लगातार चौथोपटक र समग्रमा सातौंपटक विश्वकपमा सहभागी हुँदैछ । तर, उनीहरू अहिलेसम्म पहिलो चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।
महासंघले आधार शिविर सार्दा भिसा सम्बन्धी सम्भावित समस्याहरू हल हुने बताएको छ किनकि टोली मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेछ । टोलीले इरान एयरको उडान प्रयोग गरेर मेक्सिको आउजाउ गर्न समेत सक्षम हुन सक्ने ताजले बताए ।
मार्चमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेपछि फिफाले टोलीको विश्वकप खेलहरू मेक्सिकोमा सार्न अनिच्छा देखाएको खबर आएको थियो । डोनल्ड ट्रम्पले त्यस समयमा इरानी खेलाडीहरू अमेरिका जाँदा उनीहरूको जीवन र सुरक्षा जोखिममा पर्न सक्ने बताएका थिए ।
गत महिना भ्यानकुभरमा भएको फिफा कंग्रेसमा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले आफ्नो विश्वकप खेलहरू पूर्व निर्धारित तालिका अनुसार नै अमेरिकामा खेल्ने बताएका थिए ।
‘म सुरुमै यो कुरा स्पष्ट पार्न चाहन्छु, इरानले निश्चित रूपमा फिफा विश्वकप २०२६ मा भाग लिनेछ,’ उनले त्यसबेला भनेका थिए, ‘र पक्कै पनि इरानले अमेरिकामा खेल्नेछ । यसको कारण सरल छ किनकि हामी एकताबद्ध हुनुपर्छ । हामीले मानिसहरूलाई एकजुट बनाउनुपर्छ ।’





प्रतिक्रिया