७०० किलोको ‘डोनाल्ड ट्रम्प’ सँग सेल्फी खिच्न तछाडमछाड, किन भाइरल भयो यो भैंसी ?


काठमाडौं । बंगलादेशमा आगामी बकरा ईद (इद उल-अजहा) को अवसरमा एउटा दुर्लभ ‘एल्बिनो’ (सेतो) भैंसी सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ।

ढाका नजिकैको नारायणगञ्ज जिल्लास्थित एक पशु फार्ममा रहेको ७०० किलोग्राम तौलको यो भैंसीको नाम ‘डोनाल्ड ट्रम्प’ राखिएको छ, जसलाई हेर्न र सेल्फी खिच्न अचेल मानिसहरूको ठूलो भीड लाग्ने गरेको छ।

सामान्यतया दक्षिण एसियामा कालो रङका भैंसीहरू पाइने भए पनि यो भैंसी भने क्रीम (सेतो) रङको छ।

यसको नाक गुलाबी छ भने निधारमा सुनौलो कपालको झुप्पा छ। फार्म सञ्चालकहरूका अनुसार यसको कपालको बनावट र रङ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित हेयरस्टाइलसँग मिल्दोजुल्दो देखिएकाले यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिएको हो। यही अनौठो लुक्सकै कारण यो भैंसी अहिले भाइरल बनेको हो।

फार्मका सञ्चालक जियाउद्दीन मृधाका अनुसार यो भैंसी निकै शान्त स्वभावको छ। यसलाई स्वस्थ र आकर्षक राख्न विशेष ध्यान दिइएको उनले बताए। भैंसीलाई दिनमा चार पटक नुहाइने र विशेष प्रकारको पोषणयुक्त चारो खुवाउने गरिएको थियो।

बंगलादेशमा पछिल्ला वर्षहरूमा ईदको समयमा ठूला, हृष्टपुष्ट र आकर्षक जनावरहरूलाई चर्चित सेलिब्रिटी वा नेताको नाम दिएर प्रचार गर्ने चलन बढेको छ। यो ‘डोनाल्ड ट्रम्प’ भैंसीलाई पनि आगामी मे २८ मा मनाइने बकर ईदका लागि एक ग्राहकले किनिसकेका छन्। सोही दिन यसको कुर्बानी दिइने बताइएको छ।

के हो एल्बिनो भैंसी ?
एल्बिनो हुनु एक प्रकारको आनुवंशिक अवस्था हो। शरीरमा रङ प्रदान गर्ने तत्व ‘मेलेनिन’ को कमी हुँदा जनावरको छाला, रौं र आँखाको रङ सामान्यभन्दा फरक अर्थात् सेतो, क्रीम वा गुलाबी देखिन्छ। यस्ता जनावरहरू निकै कम संख्यामा भेटिने भएकाले यिनीहरू आकर्षणको केन्द्र बन्ने गर्छन्।