
एजेन्सी । चीनमा भेला भएका एसिया–प्रशान्त क्षेत्रका व्यापार प्रतिनिधिहरूले बहुपक्षीय सहयोग, व्यापार असन्तुलन र इरानमाथि भइरहेको अमेरिकी–इजरायली युद्ध लगायतका विश्वव्यापी धक्काहरूका बीच आपूर्ति शृंखलाको लचिलोपनका बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
विश्वव्यापी व्यापारको करिब आधा हिस्सा ओगट्ने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका सदस्य राष्ट्रका व्यापार प्रतिनिधिहरूले पूर्वी चिनियाँ शहर सुचाउमा शुक्रबारदेखि सुरु हुने दुई दिने बैठकमा भाग लिइरहेका छन् ।
चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि तथा वाणिज्य उपमन्त्री ली चनगाङले शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘समय जति चुनौतीपूर्ण हुन्छ, हामीले मतभिन्नताहरूलाई थाती राखेर साझा आधार खोज्ने कुरामा त्यति नै अडिग रहनुपर्छ ।
कठिनाइहरू पार गर्न मिलेर काम गर्ने, थप सहमतिमा पुग्न प्रयास गर्ने, एसिया–प्रशान्त अर्थतन्त्रलाई संकटबाट पार लगाउने र विश्व अर्थतन्त्रमा आत्मविश्वास भर्ने दिशामा अघि बढ्नुपर्छ ।’
यो कार्यक्रम यसै वर्षको अन्त्यमा शेन्जेनमा हुने वार्षिक एपेक शिखर सम्मेलन अघिको बैठकको एक हिस्सा हो । सहभागी अधिकारीहरूले एसिया–प्रशान्त क्षेत्रको स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउने, डिजिटल व्यापार प्रवर्धन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्सको तयारीलाई तीव्रता दिने र दिगो एवं समावेशी वृद्धिलाई प्रोत्साहन गर्ने विषयमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
यस वर्षको बैठकको प्राथमिकताका बारेमा लीले भने, ‘संस्थागत व्यवस्थाहरूलाई सुदृढ गर्ने, उदीयमान क्षेत्रहरूमा गति बढाउने, एसिया–प्रशान्त क्षेत्रको आर्थिक हिस्सालाई संयुक्त रूपमा विस्तार गर्ने र समावेशी, पारस्परिक लाभदायी र सबैको जित हुने परिणाम प्राप्त गर्न उक्त हिस्साको न्यायोचित वितरण सुनिश्चित गर्ने यसका मुख्य लक्ष्यहरू हुन् ।’
गत वर्ष चीनले करिब १२ खर्ब डलरको रेकर्ड व्यापार मुनाफा सार्वजनिक गरेको थियो । सुचाउमा भइरहेको यो भेला जी७ का अर्थमन्त्रीहरूले वर्तमान व्यापार असन्तुलन दिगो नभएको र यसलाई सम्बोधन गर्न कदम चाल्नुपर्ने सहमति जनाएको केही दिनपछि आयोजना भएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उक्त बैठकअघि सस्तो चिनियाँ आयातको बाढीविरुद्ध थप संरक्षण आवश्यक रहेको तर्क गरेका थिए ।
एपेक व्यापार मन्त्रीहरूको बैठक हालैका हप्ताहरूमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङको गरेको भ्रमण लगत्तै आयोजना भएको हो । चीन, रुस र अमेरिका सबै एपेकका सदस्य हुन् ।
शुक्रबार नै बोल्दै एपेक व्यापार सल्लाहकार परिषद्का अध्यक्ष ली फानरोङले विश्व अर्थतन्त्र ठूलो दबाबमा रहेको बताउँदै व्यापारिक समुदायको तर्फबाट थप अनिश्चितता रोक्न नयाँ व्यापारिक प्रतिबन्धहरूमा रोक लगाउन आग्रह गरे । उनले भने, ‘हाम्रो क्षेत्रको व्यापारिक आत्मविश्वास, रोजगारी, जीवनस्तर र दीर्घकालीन समृद्धिका लागि यो समय निकै महत्त्वपूर्ण छ ।’
एपेकका २१ सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्दै सहभागी हुनेहरूमा अमेरिकी उप–व्यापार प्रतिनिधि रिक स्विट्जर, अस्ट्रेलियाका व्यापार मन्त्री डन फारेल, आसियानका महासचिव काओ किम हर्न र ताइवानकी मुख्य व्यापार वार्ताकार याङ जेन–नी रहेका छन् ।
सहभागी जापानी व्यापार मन्त्री र्योसेई अकाजावा नोभेम्बरमा दुई देशबीच कूटनीतिक विवाद सुरु भएयता चीन भ्रमण गर्ने सबैभन्दा वरिष्ठ जापानी अधिकारी हुन् । अकाजावा र वरिष्ठ चिनियाँ अधिकारीबीचको भेटवार्ता जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चिनियाँ आक्रमण भएमा टोकियोले जवाफ दिने बताएपछि सुरु भएको विवादपछिको उच्चस्तरीय संवाद हुनेछ ।
त्यसयता बेइजिङले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गर्ने र इलेक्ट्रिक कार, हतियार तथा अन्य उत्पादनहरूका लागि महत्त्वपूर्ण मानिने दुर्लभ खनिज पदार्थको आपूर्ति रोक्ने जस्ता कैयौं प्रतिशोधात्मक कदमहरू चालेको छ ।









प्रतिक्रिया