
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार युक्रेनी सेनाले युक्रेनको सिमानाबाट करिब ७०० किलोमिटर टाढा रहेको रुसको यारोस्लाभ क्षेत्रको एउटा तेल रिफाइनरीमा आक्रमण गरेको बताएका छन् ।
रोयटर्सका अनुसार, जेलेन्स्कीले टेलिग्राममा लेख्दै युक्रेनी रक्षा बलले रातभर युक्रेनी भूभागबाट करिब ७०० किलोमिटर पर रहेको यारोस्लाभ तेल रिफाइनरीसँग सम्बन्धित लक्ष्यहरूमा कारबाही गरेको जानकारी दिए । उनले युद्धलाई रुसकै घरसम्म फिर्ता पुर्याइरहेको र यो न्यायोचित भएको समेत उल्लेख गरे ।
जेलेन्स्कीले यस वर्ष रुसी सेनाको क्षति १ लाख ४५ हजार नाघेको दाबी पनि गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले सन् २०२६ को सुरुवातदेखि नै युद्धको मोर्चामा रुसी सेनाले १ लाख ४५ हजारभन्दा बढी जनशक्ति गुमाइसकेको उल्लेख गरे जसमा करिब ८६ हजार मारिएका, कम्तीमा ५९ हजार गम्भीर घाइते भएका र ८०० भन्दा बढी रुसी सैनिकहरू युद्धबन्दी बनाइएका छन् ।
उनले सुमी क्षेत्रको सीमावर्ती इलाकाहरूमा युक्रेनले तोकिएको लक्ष्य हासिल गरिरहेको र अन्य क्षेत्रहरूमा पनि रुसी जनशक्तिको उपकरण नष्ट गर्ने क्रम जारी रहेको दाबी गरे ।
रुसको तेल प्रशोधन क्षमताका बारेमा पहिले पनि जेलेन्स्कीले एक्समा पोस्ट गर्दै हालैका महिनाहरूमा रुसको तेल प्रशोधन क्षमता करिब १० प्रतिशतले घटेको र केही तेलका कुवाहरू समेत बन्द भएको दाबी गरेका थिए । पुटिनले युद्धका लागि कोष त जम्मा गरेका छन् तर अनिश्चितकालसम्म लड्नका लागि त्यो पर्याप्त नभएको जेलेन्स्कीले बताए ।
जेलेन्स्कीका अनुसार, युक्रेनको प्रत्येक जवाफी हमला र साझेदारहरूसँग मिलेर दिइएको दबाबले रुसलाई युद्ध अन्त्यको नजिक पुर्याइरहेको छ ।
फेब्रुअरी २४, २०२२ मा सुरु भएको रुसको पूर्ण स्तरको युक्रेन आक्रमण अझै तीव्र हुँदै गएको छ र दुवै पक्षले नयाँ ड्रोन र मिसाइल आक्रमणहरू गरिरहेका छन् । द्वन्द्व सुरु भएको चार वर्षभन्दा बढी भइसक्दा पनि युद्धविराम वा शान्ति सम्झौताको दिशामा कुनै स्पष्ट मार्ग फेला पर्न सकेको छैन ।





प्रतिक्रिया