
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट प्राप्त जग्गा तथा पार्टी कार्यालय निर्माणको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सबेको सचिवालय बैठकमा उक्त प्रस्ताव पेस गर्दै धन्यवादसहित अस्वीकार गर्ने निर्णय गरेको हो । अब पार्टीले बल्खुस्थित आफ्नै जग्गामा नयाँ कार्यालय भवन निर्माण गर्ने भएको छ। नयाँ भवन नबनुञ्जेल भाडाको घर खोज्ने तयारी पनि गरिएको छ ।
व्यवसायी गुरुङले कलंकीको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा करिब १० रोपनी १४ आना जग्गा दान दिँदै अत्याधुनिक पार्टी कार्यालय भवन बनाइदिने प्रस्ताव गरेका थिए ।
उक्त जग्गामा २०८१ असोज २५ गते प्रधानमन्त्री ओली र गुरुङले संयुक्त रूपमा शिलान्यास समेत गरेका थिए। तर प्रस्ताव सार्वजनिक भएपछि एमालेभित्रै चर्को आलोचना भएको थियो । सचिवालय बैठकमा प्रस्तावको विरोध गरेका डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बनसमेत गरिएको थियो ।
आलोचनाबीच भएको भदौ २३ र २४ गतेको जनजीवन आन्दोलनका क्रममा गुरुको भाटभटेनीमा आगजनीसमेत भएको थियो ।
२०७२ वैशाखको भूकम्पले एमालेको मुख्यालय भत्काएपछि पार्टी भाडाको घरमा बस्दै आएको छ । सुरुमा धुम्बाराहीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बसेको एमाले त्यहाँ विवाद भएपछि थापाथली हाइटको एक व्यवसायीको घरमा सरेको थियो । त्यसपछि २०७९ मा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भाडामा बसिरहेको छ । तर भोगाधिकार लिजमा परिणत नभएकाले सरकारले प्रतिष्ठानलाई घर खाली गर्न निर्देशन दिइसकेको छ ।









प्रतिक्रिया