
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहले इन्कार गरेका छन् । सभामुख डिपी अर्यालले बिहीबार भेटेर नियमावलीको बाध्यात्मक व्यवस्था अनुसार संसदमा उपस्थित हुन गरेको आग्रहलाई प्रधानमन्त्री शाहले अस्वीकार गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन एक घण्टा प्रधानमन्त्रीसँग सिधा प्रश्नोत्तर गर्ने व्यवस्था छ । यसका लागि समय निर्धारण गर्ने अधिकार सभामुखलाई हुन्छ। यदि पहिलो साता प्रधानमन्त्री व्यस्त भएमा सभामुखले अर्को कुनै समय तोक्न सक्ने नियम छ।
यो नियम कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसलगत्तै उनी प्रश्नोत्तरको समय तय गर्न प्रधानमन्त्री कार्यालय नै पुगेका थिए ।
भेटका क्रममा सभामुख अर्यालले नियमावलीको कानुनी बाध्यता स्मरण गराउँदै आगामी हप्ताको कुनै दिन समय मिलाएर संसदमा उपस्थित भइदिन प्रधानमन्त्री शाहलाई आग्रह गरे। तर, प्रधानमन्त्रीले आगामी हप्ता समय दिन नसक्ने र पछि कुनै ‘उपयुक्त समय’ मा मात्रै आएर जवाफ दिने जवाफ दिए ।
प्रधानमन्त्रीसँगको उक्त कुराकानीबारे सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रमुख सचेतक, सचेतक र कानुनमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्रीले तत्काल नभई अर्को कुनै उपयुक्त समयमा मात्र आएर जवाफ दिन्छु भनेको बिफिङ सभामुखले गरेका थिए ।
प्रधानमन्त्रीले संसदको सामना गर्न नमानेपछि विपक्षी दलहरूले आक्रोश व्यक्त गरेका छन् र सदनमा नाराबाजी गरिरहेका छन्।









प्रतिक्रिया