महिनावारी स्वास्थ्य सचेतनाका लागि ‘१० किमि रोड रन’ आयोजना हुँदै, १ हजार महिलालाई सहयोग गर्ने

91
Shares

काठमाडौं । महिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुऱ्याउने उद्देश्यका साथ ललितपुरमा ‘डब्लूडब्लूएन रोड रन २०२६: १ हजार महिलाका लागि १० किलोमिटर दौड’ (१० किलोमिटर दौड) आयोजना हुने भएको छ ।

वाइन टु वाटर नेपालको आयोजनामा यो दौड भोलि जेष्ठ २ गते शनिबार हुनेछ । पाटन दरबार स्क्वायरबाट बिहान ६:४५ बजे सुरु हुने यस कार्यक्रममा विभिन्न उमेर समूह र पृष्ठभूमिका धावकहरूको उत्साहजनक सहभागिता रहने आयोजकले जनाएको छ । यो रोडरनको मिडिया पार्टनर क्लिकमान्डु रहेको छ ।

महिनावारी स्वास्थ्य तथा सरसफाइ दिवस २०२६ को अवसर पारेर आयोजना हुन लागेको यस कार्यक्रमले खेलकुद र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने लक्ष्य राखेको छ ।

दौडमार्फत संकलित सहयोगले वाइन टु वाटर नेपालले कार्य गरिरहेका १६ वटा विभिन्न समुदायका १,००० महिलाहरूका लागि महिनावारी स्वास्थ्य शिक्षा, जनचेतना अभिवृद्धि र आवश्यक प्याड वितरणमा खर्च गरिनेछ ।

दौडलाई थप समावेशी बनाउन आयोजकले विभिन्न विधामा विभाजन गरेको छ । जसमा १६ वर्षमुनि, १६–३५ वर्ष, ३५–५० वर्ष, ५० वर्षमाथि, व्यावसायिक धावक (प्रोफेसनल रनर) र फरक क्षमता भएका व्यक्तिहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा रहनेछ ।

यस वर्षको दौडको मुख्य सन्देश महिनावारीको अनुभव र दौडको भावनात्मक सम्बन्धलाई जोडिएको छ । ‘पहिलो पटक महिनावारी हुँदा किशोरीहरूमा हुने जिज्ञासा, उत्साह र असहजतालाई दौडको सुरुवातमा हुने ऊर्जा र निरन्तरतासँग तुलना गरिएको छ,” आयोजकले भनेको छ, ‘यसले महिलाहरूले महिनावारीको समयमा भोग्ने शारीरिक तथा मानसिक चुनौतीप्रति समाजलाई संवेदनशील बन्न प्रेरित गर्नेछ ।’

वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक नीजन श्रेष्ठले कार्यक्रम सफल बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, ट्राफिक प्रहरी, विभिन्न सरकारी निकाय, साझेदार संस्था र सञ्चारकर्मीहरूको ठूलो सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रमबाट प्राप्त हुने सम्पूर्ण सहयोग ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्य र सरसफाइको सुधारका लागि उपयोग गरिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।