
काठमाडौं । सम्पत्ति छानबिन आयोग, २०८३ ले गैरकानूनी रूपमा अस्वाभाविक सम्पत्ति आर्जन गरेका सार्वजनिक पदधारी व्यक्तिहरूविरुद्ध उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।
आयोगले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूले कानुन विपरीत आर्जन गरेको सम्पत्तिबारे जानकारी भए उजुरी दिन आग्रह गरेको हो ।
कसका विरुद्ध उजुरी दिन सकिनेछ ?
सूचनामा जनाइए अनुसार स्वतः छानबिनको सूचीमा परेका वा नपरेका जुनसुकै सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीहरूले आफ्नो, परिवारका सदस्य, आफन्त वा अन्य कुनै व्यक्तिका नाममा स्वदेश तथा विदेशमा अस्वाभाविक रूपमा सम्पत्ति राखेको पाइएमा उजुरी दिन सकिनेछ ।
उजुरी कसरी दिने?
कुनै पनि व्यक्तिसँग यसबारे सूचना, जानकारी वा प्रमाण भएमा त्यस्ता व्यक्तिको सम्पर्क नम्बर र इमेल ठेगाना सहितको विवरण खुलाई उजुरी दिन सकिने आयोगले जनाएको छ।
उजुरीकर्ताले निम्न माध्यमबाट विवरण उपलब्ध गराउन सक्नेछन्:
आयोगको कार्यालय (केशरमहल, काठमाडौँ) मा स्वयं उपस्थित भएर। हुलाक मार्फत पत्र पठाएर।
आयोगको आधिकारिक इमेल [email protected] मा इमेल गरेर पनि उजुरी दिन सकिनेछ ।
आयोगले उजुरी दिने व्यक्तिको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै उजुरीकर्ताको नाम, थर र ठेगाना पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता जनाएको छ।










प्रतिक्रिया