
काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउमा कारण देखाउ आदेश जारी गरेको छ । पाण्डेकी श्रीमती निरु दाहालले सर्वोच्च अदालतमा रिट दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको हो ।
पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘ठगी तथा आपराधिक विश्वासघात’ को कसुरमा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो ।
सीईओ पाण्डेको पक्राउलाई गैरकानुनी भन्दै उनकी श्रीमती दाहालले सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । उक्त रिटको सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको थियो । उक्त मुद्दामा हाल सुनुवाइ सकिएको हो ।
सीआईबीका अनुसार स्मार्ट टेलिकम प्रालिको सम्पत्ति व्यवस्थापनका क्रममा नेपाल सरकारको हक टुट्ने गरी ठगी र आपराधिक विश्वासघात गरेको अभियोगमा पाण्डेलाई पक्राउ गरिएको हो । स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण नगरेपछि सरकारको नियन्त्रणमा आएको सम्पत्ति लिलामी प्रक्रियामा पाण्डेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तर्फबाट बदनियतपूर्वक काम गरेको प्रहरीको दाबी छ ।
बन्दी प्रत्यक्षीकरण रिटमा निवेदक दाहालले पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तुरुन्त रिहा गर्न माग गरेकी छन् ।









प्रतिक्रिया