राजनीति नगर्न कर्मचारीलाई सरकारको चेतावनी

161
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

मन्त्रालयले संविधान र प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको स्मरण गराउँदै कर्मचारीलाई राजनीतिक क्रियाकलापबाट टाढा रहन भनेको हो ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ढ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा ‘भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने’ व्यवस्था रहेको उल्लेख गरेको छ ।

सूचनामा सम्पूर्ण निजामती कर्मचारीलाई प्रचलित कानुनबमोजिम अनुशासन तथा आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न, कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन तथा निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न निर्देशन दिइएको छ ।

यस्तै, कुनै राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्यता लिएको, राजनीतिक गतिविधिमा संलग्न भएको वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेको पाइए कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।