
काठमाडौं । बैंकहरूले निक्षेपमा दिने वास्तविक ब्याजदर ऋणात्मक भएको छ । बैंकमा पैसा राख्दा प्राप्त हुने ब्याजदर मुद्रास्फीतिभन्दा कम भएसँगै बैंकमा सर्वसाधारणले राखेको रकमबाट पाउने ब्याजदर पैसाको अबमूल्यन दरभन्दा कम भएको हो ।
यसको अर्थ बैंकमा सर्वसाधारणले राखेको पैसा घटिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चैत मसान्तको महँगी दर (मुद्रास्फीति) ४.४७ प्रतिशत छ । जबकि यही विन्दुमा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदरको भारित औसत ३.४० प्रतिशत मात्र छ । यसको अर्थ सर्वसाधारले बैंकमा राखेको पैसाको वास्तविक मूल्य १.०७ प्रतिशतले घटिरहेको छ।
पछिल्लो तथ्यांकअनुसार दुई महिनादेखि वास्तविक ब्याजदर ऋणात्मक बनेको हो । अप्रिल महिनामा त यो १ प्रतिशतभन्दा बढीले ऋणात्मक भएको छ । यसले बैंकमा पैसा राख्नेहरूको बचत सुरक्षित हुनुको साटो उल्टै क्रयशक्ति गुमाइरहेको देखिन्छ ।
यसको अर्थ यदि तपाईंले १ करोड रुपैयाँ बैंकमा राख्नुभएको छ भने एक वर्षपछि सो रकम ब्याजसहित १ करोड ३ लाख ४० हजार पुग्छ । तर, जुन वस्तु वा सेवा १ वर्षअघि १ करोडमा पाइन्थ्यो, त्यसलाई किन्न अहिले १ करोड ४ लाख ४७ हजार खर्च गर्नुपर्ने हुन्छ । यसरी हेर्दा बैंकमा पैसा राख्दा पनि तपाईंले १ लाख ७ हजार रुपैयाँ बराबरको क्रयशक्ति गुमाउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पटकपटक ‘निक्षेपको वास्तविक ब्याजदर धनात्मक हुने गरी नीतिगत कार्यदिशा तय गर्ने’ घोषणा गर्ने गरेको छ । अहिले राष्ट्र बैंक असफल देखिएको छ ।

तथ्यांक गत आवको अधिकांश समय वास्तविक ब्याजदर केही सकारात्मक रहेको थियो । गत फागुनमा ०.१७ प्रतिशतले ऋणात्मक रहेको वास्तविक ब्याजदर अप्रिलमा आइपुग्दा १.०७ प्रतिशत पुगेको देखिन्छ ।
विज्ञहरूले वास्तविक ब्याजदर ऋणात्मक हुँदा अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउने गरेका छन् । जब बैंकमा पैसा राख्दा मूल्य घट्दै जान्छ, मानिसहरूले अनौपचारिक क्षेत्र वा विदेशमा पुँजी पठाउने जोखिम बढ्छ । यसले गर्दा नेपालको गार्हस्थ्य बचतमा ठूलो धक्का पुग्ने र भविष्यमा ठूला पूर्वाधारमा लगानीका लागि पुँजीको अभाव हुनेछ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि त्यसलाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ता मारमा परेका छन् ।






प्रतिक्रिया