
काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस न्यायाधीश डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीशहरूमध्ये सबैभन्दा बढी मुद्दा तथा निवेदन फछ्र्यौट गरेको पाइएको छ ।
सर्वोच्च अदालतले तयार पारेको ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना मूल्यांकन प्रतिवेदन’अनुसार चौथो पञ्चवर्षीय अवधिमा शर्माले ७ हजार ३ सय ८८ मुद्दा फछ्र्यौट गरेको देखिन्छ ।
२०७६ साउनदेखि २०८१ असार मसान्तसम्मको विवरणअनुसार शर्माले ७ हजार ३ सय ८८ मुद्दा फछ्र्यौट गर्दा दोस्रो धेरै मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश हरिप्रसाद फुयाल हुन् । यसैगरी तेस्रो धेरै मुद्दा तथा निवेदन फछ्र्यौट गर्ने न्यायाधीश कुमार रेग्मी रहँदा प्रस्तावित ६ मध्ये वरिष्ठतम तथा कायम मुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले सबैभन्दा कम अर्थात् ४ हजार ६ सय ७१ मुद्दा मात्र फछ्र्यौट गरेकी छन् ।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकमा ६ न्यायाधीश प्रस्ताव गरिएकामा सबैभन्दा बढी मुद्दा किनारा लगाउने शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।
शर्माले पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार १८१ वटा मुद्दाको किनारा लगाएका छन् । उनले आव २०७६/७७ मा १ हजार ६४६, आव २०७७/७८ मा ५९४, आव २०७८/७९ मा १ हजार १० र आव २०७९/८० मा १ हजार ९५७ वटा मुद्दा फछ्र्यौट गरेको देखिन्छ ।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना अवधिमा तिलप्रसाद श्रेष्ठले ५ हजार ९९२ र नहकुल सुवेदीले ४ हजार ९ सय ६९ मुद्दा किनारा लगाएका छन् । चौथो पञ्चवर्षीय रणनीतिक योजना अवधिमध्ये श्रेष्ठले सर्वोच्चमा ३ आर्थिक वर्षमात्र काम गर्दा सुवेदी न्यायाधीश ४ आव काम गरे ।
प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीशहरूले ५ वर्षमा कति मुद्दा फछ्र्यौट गरे ?
सपना प्रधान मल्ल – ४६७१ मुद्दा
कुमार रेग्मी – ६२२६ मुद्दा
हरिप्रसाद फुयाल – ६५२६ मुद्दा
डा. मनोजकुमार शर्मा – ७३८८ मुद्दा
नहकुल सुवेदी – ४९६९ मुद्दा
तिलप्रसाद श्रेष्ठ – ५९९२ मुद्दा
तथ्यांक हेर्दा पछिल्ला दुई आर्थिक वर्ष (२०७९/८० र २०८०/८१) मा सबै न्यायाधीशहरूको मुद्दा फछ्र्यौट गर्ने दरमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
न्यायपालिकाको कार्यसम्पादनलाई पारदर्शी बनाउने र न्यायाधीशहरूको क्षमता मूल्यांकन गर्न यस्तो विवरण तयार पारिन्छ ।
कुन आर्थिक वर्ष कसले गरे कति मुद्दा फछ्र्यौट ?
आर्थिक वर्ष २०७६/७७ मा सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माले सबैभन्दा बढी १ हजार ६४६ मुद्दा किनारा लगाउँदा कुमार रेग्मीले १ हजार ९९ र हरिप्रसाद फुयालले १०४६ मुद्दा फछ्र्यौट गरेका थिए । सो आव सपना प्रधान मल्लले ७९४ मुद्दामा हेरेकी थिइन् ।
आर्थिक वर्ष २०७७/७८ मा शर्माले नै सर्वाधिक ५९४ मुद्दा किनारा लगाएका थिए । सो आवमा कुमार रेग्मीले ५३३, हरिप्रसाद फुयालले ५१८, सपना प्रधान मल्लले ४१६ र डा. नहकुल सुवेदीले ४७ मुद्दा हेरेका थिए ।
आर्थिक वर्ष २०७८/७९ पनि सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने शर्मा नै थिए । उनले १ हजार १० वटा मुद्दा किनारा लगाउँदा कुमार रेग्मीले ९७७, हरिप्रसाद फुयालले ९६८, डा. नहकुल सुवेदीले ८१४, तिलप्रसाद श्रेष्ठले ७६५ र सपना प्रधान मल्लले सबैभन्दा कम ६३८ मुद्दा हेरेकी थिइन् ।
आर्थिक वर्ष २०७९/८० मा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सबैभन्दा बढी २ हजार ४८१ वटा मुद्दा हेरे । डा. मनोजकुमार शर्माले दोस्रो धेरै १ हजार ९५७ मुद्दा किनारा लगाउँदा हरिप्रसाद फुयालले १ हजार ७६२, कुमार रेग्मीले १ हजार ७५१, डा. नहकुल सुवेदीले १७२९ र सपना प्रधान मल्लले सबैभन्दा कम १३५२ मुद्दा फछ्र्यौट गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा तिलप्रसाद श्रेष्ठ पछिल्लो ५ आवमध्ये एकैवर्ष सबैभन्दा धेरै २ हजार ७४६ मुद्दा फछ्र्यौट गर्दा डा. सुवेदीले २ हजार ३७९, फुयालले २ हजार २३२, डा. शर्माले २१८१ मुद्दा र रेग्मीले १८६६ मुद्दा हेरेका थिए । सो आव पनि सबैभन्दा कम मुद्दा किनारा लगाउने न्यायाधीश मल्ल नै थिइन् । उनले सो आवमा १ हजार ४७१ मुद्दा फर्स्यौट गर्दै योजना अवधिका पाँचै आर्थिक वर्ष सबैभन्दा कम मुद्दा किनारा लगाउने न्यायाधीश बनिन् ।








प्रतिक्रिया