बस्ती खाली गराउँदा प्रभावित बालबालिकालाई निःशुल्क भर्ना लिन निजी विद्यालय सञ्चालक तयार

98
Shares

काठमाडौँ। निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउँदा प्रभावित समुदायका बालबालिकाको पढाइमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष कृष्णप्रसाद अधिकारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष युवराज शर्मा, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), एसोसिएसन अफ प्रि–स्कुल एसोसियटर्स (एपेन)का अध्यक्ष बद्रीप्रसाद दाहालले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएका हुन् । यसअघि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डङ्गोलले निजी क्षेत्रका शिक्षालय सञ्चालक संस्थाका प्रतिनिधिसँग सो विषयमा छलफलसहित सहयोगको आग्रह गरेका थिए ।

‘नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकारलाई कुनै पनि परिस्थितिमा खलल हुन नदिन राज्य, समाज र शैक्षिक क्षेत्रबीच समन्वय गरी तुरुन्तै आवश्यक व्यवस्था हुनुपर्नेमा जोड दिँदै, स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन हामी सबै सरोकारवालाहरू प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ’, ती संस्थाहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितताका लागि आवश्यक सहयोग र सहजीकरण गर्न हामी तत्पर छौँ ।’

प्रभावित क्षेत्रमा बालबालिकालाई नजिकैको निजी विद्यालयमा निःशुल्क भर्ना गर्ने अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, मनोवैज्ञानिक सहयोगको उपयुक्त व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला सङ्गठित भएर अघि बढ्न पनि ती संस्थाहरूले आग्रह गरेका छन् । नेपाल सरकार, स्थानीय तह, शैक्षिक संस्था र समुदायबीचको सहकार्यबाट प्रतिकूलतामा पनि अनुकूलता निर्माण गर्न सकिने विश्वासका साथ, सम्पूर्ण सरोकारवाला पक्ष यस मानवीय तथा उत्तरदायी पहलमा ऐक्यबद्ध भई सक्रिय सहयोग गर्न पनि आग्रह गरिएको छ ।