रोल्पा जीप दुर्घटना बिषयमा छानबिन समिति गठन भएको छ : प्रधानमन्त्री कार्यालय

56
Shares

काठमाडौं । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२ मा शुक्रबार दिउँसो भएको भयावह जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति सरकारले दुई दिनपछि दुःख व्यक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले समग्र राष्ट्रलाई स्तब्ध बनाएको जनाएको छ।

विज्ञप्तिअनुसार दुर्घटनापछि उद्धार कार्यलाई तीव्रता दिइएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको जनाइएको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक दुर्घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

सडक सुरक्षा प्रणाली सुदृढ बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावकारी कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।