रोल्पा जीप दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

119
Shares

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार दिउँसो भएको जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार नै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

गृह मन्त्रालयले समितिलाई उक्त दुर्घटना कसरी भयो र यसमा कसको लापरवाही वा कमजोरी रह्यो भन्ने पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे सुझाव दिन कार्यादेश दिएको छ ।

रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।