
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।
पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
वैशाख ७ गते सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको समितिको निष्कर्ष छ ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले तामाङको स्पष्टीकरण प्रारम्भिक रूपमा चित्तबुझ्दो नदेखिएको र विषयमा थप अनुसन्धान आवश्यक रहेको ठहर गरेको छ ।
अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनलाई पदमा निरन्तर राख्न नहुने निष्कर्षसहित निलम्बन गरिएको जनाइएको छ ।
पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ अनुसार उनलाई तत्काल प्रभावबाट लागू हुने गरी मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
निलम्बनसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न पाउने छैनन् ।
यसैबीच, केन्द्रीय अनुशासन समितिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित विषयमा यसअघि सोधिएको स्पष्टीकरणलाई भने तामेलीमा राख्ने निर्णय गरेको छ ।









प्रतिक्रिया