माथिल्लो म्याग्दी हाइड्रो: १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

133
Shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजनाले निर्माण सुरु भएको १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैतभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन तथा हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका निर्माण कार्यलाई समानान्तर रूपमा तीव्रता दिएको हो । विसं २०८१ चैतदेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

‘सुरुङसहितका भूमिगत संरचनालाई अबको आठ महिनाभित्र सम्पन्न गरी फिनिसिङ चरणमा लैजाने कार्ययोजनाअनुसार काम अघि बढाएका छौँ,’ उनले भने, ‘सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युत्गृहको काम तीव्र गतिमा गरिरहेको छ भने प्रसारण लाइन र पेनस्टक पाइपलाइनको काम पनि चाँडै सुरु हुँदैछ ।’

छ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये मंगलबारसम्म चार हजार २२० मिटर निर्माण सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताए । धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी)मा विद्युत्गृह निर्माणाधीन छ ।

बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भइसकेको छ । आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना ‘रन अफ द रिभर’ (नदी प्रवाहमा आधारित) प्रकारको हो ।

बाँध, इन्टेक र विद्युत्गृह बाहेकका ग्राभेल ट्र्याप, डीस्यान्डर (बालुवा थिग्र्याउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेललगायत सबै संरचना भूमिगत रहनेछन् । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्रे इन्जिनियरिङ प्रालि रहेका छन्।

इलेक्ट्रोमेकानिकल कार्यका लागि इटालीको ट्रोयर कम्पनी ठेकेदार रहेको छ भने हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित छ ।

यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पायरका अध्यक्ष काजी लामाले बताए ।

थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने गरी ३१४ मिटर हेडलाई बढाएर ३१७ मिटर पुर्‍याइएको छ भने खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड पुर्‍याएर क्षमता वृद्धि गरिएको हो ।

सुक्खायाममा पनि म्याग्दी नदीमा पर्याप्त पानी हुने भएकाले आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने अध्यक्ष लामाले बताए ।

रु ८ अर्ब ४६ करोड ५४ लाख २ हजार अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत सेयर छुट्याइएको घर्तीले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ ।

शिवरात्रिखोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक विस्तारमा पनि सहयोग गरेको छ ।