बालेन सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, साझा धारणा बनाउन कांग्रेसको आह्वानमा बैठक

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बुधबार सिंहदरबारमा सुरु भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी सो बैठकमा पछिल्लो राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।

सरकारले संसद्लाई छलेर संवैधानिक परिषद् र सहकारी समस्यासँग सम्बन्धित विधेयक ल्याएपछि त्यसको विरोध र प्रतिवाद गर्न विपक्षी दलहरू एकजुट भएका हुन् ।

बैठकमा सरकारले संसद्को क्षेत्राधिकार मिचेको तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत गतिविधि बढाएको विषयमा गम्भीर समीक्षा भइरहेको बताइएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने लगायतका सरकारका पछिल्ला कदमहरूको विरोध गर्ने र जनसरोकारका मुद्दामा एकताबद्ध भएर अघि बढ्ने योजना तय गरिनेछ ।

सरकारका ‘गलत’ कामहरूको भण्डाफोर गर्न विपक्षी मोर्चालाई सशक्त बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । विपक्षी दलहरूले सदन र सडक दुवै माध्यमबाट सरकारलाई दबाब दिने गरी साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।