
काठमाडौं । आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद् उज्ज्वल उपाध्यायले बताएका छन् । उनका अनुसार विशेषगरी मध्यपश्चिम तथा गण्डकी क्षेत्रका स्थानहरूमा अपरान्हपछि मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
उपाध्यायका अनुसार काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा आज बेलुकी तथा रातिको समयमा पनि ठूलो वर्षा हुने सम्भावना छ। यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने भएकाले पूर्वी क्षेत्रको अधिकांश भूभाग, मेचीसम्म नै वर्षा हुने देखिएको छ।
यस्तै, भोलि बुधबार र पर्सी बिहीबार पनि पूर्वको मेची क्षेत्रदेखि पश्चिमको त्रिशूली–कालीगण्डकी क्षेत्रसम्म विभिन्न स्थानमा बेला–बेलामा वर्षा भइरहने उनले जानकारी दिए।
वर्षासँगै झापादेखि दाङसम्मका तराई क्षेत्रमा बुधबारदेखि शुक्रबारसम्म तापक्रम घट्ने र गर्मी कम हुने अनुमान गरिएको छ।
यसबीच लगातार वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङ–ल्हामु राजमार्ग तथा बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म विशेषगरी रातिको समयमा यात्रा नगर्न उनले सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।
कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरुमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









प्रतिक्रिया