सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको भन्दै एउटा म्यानपावरलाई २ लाख जरिवाना

196
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले प्रचलित ऐन र नियमविपरीत कार्य गर्ने तीनवटा म्यानपावर कम्पनीहरूलाई कारबाही गरेको छ ।

विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम ती संस्थाहरूलाई कारबाही गरिएको जनाएको हो।

विभागका अनुसार एसोसिएट वेलकम इन्टरनेशनल प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त म्यानपावरले विभागको पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको र सामाजिक सञ्जालमार्फत विज्ञापन गरी कानुन उल्लंघन गरेको पाइएकाले वैदेशिक रोजगार ऐनको दफा ४८ बमोजिम यो जरिवाना गरिएको विभागले उल्लेख गरेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन, विभागको आदेश र निर्देशन पालना नगर्ने अन्य दुई संस्थाहरूलाई पहिलो पटकका लागि सचेत गराइएको छ ।

विभागले भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा मास ह्युमन रिसोर्स र टेस्ला ओभरसिज प्रालिलाई विभागको अभिलेखमा रहने गरी चेतावनी दिएको हो ।

विभागले वैदेशिक रोजगारका नाममा हुने अवैध विज्ञापन र अनुमतिबिनाका गतिविधिमाथि निगरानी बढाउँदै लगेको छ ।