आर्थिक रूपान्तरणका लागि अर्थमन्त्रीले देखेका ११ अवसर: ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि सम्वाहक

196
Shares

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रमा विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका ११ वटा अवसरहरू रहेको बताएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै अधिकांश आर्थिक सूचकहरू नकारात्मक रहेको टिप्पणी गरेका छन् । साथै उनले आर्थिक रूपान्तरणका अवसरहरू भन्दै ११ बुँदा प्रस्तुत गरेका छन् ।

मन्त्रालयले आर्थिक सूचकहरूका लागि बहुआयामिक अवसरहरू पहिचान गरेको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको वर्तमान आर्थिक स्थितिपत्रमा नेपालको आर्थिक समृद्धिका लागि मुख्य चारवटा क्षेत्रलाई प्रमुख अवसरका रूपमा प्रस्तुत गरिएको छ ।

सरकारले पहिचान गरेका आर्थिक रूपान्तरणका ११ बुँदे अवसरहरू :

१. सुशासन र निजी लगानी
स्थिर सरकार र सुशासनमार्फत लगानीमैत्री वातावरण बनाई स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउने । जसबाट उत्पादन र रोजगारी बढाउने ।

२. जलविद्युत् र ऊर्जा बजार
सस्तो र भरपर्दो ऊर्जाको रूपमा जलविद्युत्को उपयोग गरी औद्योगिकीकरण गर्ने र क्षेत्रीय विद्युत व्यापारमार्फत वैदेशिक आम्दानी बढाउने ।

३. पर्यटनको एकीकृत विकास
प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग गर्दै हिमाली तथा ग्रामीण क्षेत्रमा रोजगारी र आय सिर्जना गर्ने ।

४. डिजिटल अर्थतन्त्र र प्रविधि
कृत्रिम बौद्धिकता (AI), रोबोटिक्स र सूचना प्रविधिको विस्तारमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरी निर्यात बढाउने । सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ र डिजिटल उद्यमशीलतामार्फत आर्थिक गतिविधि विस्तार गर्दै युवाशक्ति र साना उद्यमलाई विश्व बजारमा जोड्न सकिने ।

५. कृषिको आधुनिकीकरण
उच्च मूल्यका बाली, पशुपालन र कृषि प्रशोधन उद्योगमा लगानी बढाई उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापन गर्ने ।

६. औद्योगिक विकास र आपूर्ति शृङ्खला
विशेष आर्थिक क्षेत्र र औद्योगिक क्लस्टरमार्फत उत्पादन लागत घटाई निर्यात वृद्धि गर्ने । भौगोलिक अवस्थाको फाइदा उठाउँदै क्षेत्रीय ट्रान्जिट हब बन्ने सम्भावना छ ।

७. व्यवस्थित सहरीकरण
पूर्वाधार विकास र व्यवस्थित सहरीकरणमार्फत लगानी आकर्षण गर्ने र ग्रामीण–सहरी अन्तरसम्बन्ध बलियो बनाउने । यातायात, ऊर्जा, सिँचाइ र डिजिटल पूर्वाधार विस्तारले उत्पादन र सेवा क्षेत्रको उत्पादकत्व बढाउँछ । सार्वजनिक निजी साझेदारीमार्फत ठुला आयोजना कार्यान्वयन गर्ने अवसर छ ।

८. विप्रेषणको उत्पादनशील उपयोग
वैदेशिक आम्दानी र फर्किएका श्रमिकको सीपलाई उद्यमशीलता र स्वदेशी उत्पादनमा जोड्ने अवसर छ ।

९. वित्तीय क्षेत्र सुदृढीकरण
वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ र दीर्घकालीन लगानीका उपकरणमार्फत पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिन्छ ।

१०. जैविक र पर्यावरणीय स्रोत
खनिज, जल, जमिन र जङ्गल जस्ता प्राकृतिक स्रोतको दिगो उपयोग गरी आय र रोजगारी बढाउन सकिन्छ ।

११. संस्थागत सुदृढीकरण
सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार र संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमार्फत विकासको परिणाम सुनिश्चित गर्न सकिन्छ ।

११ वटा आर्थिक रूपान्तरणका अवसरहरू देखेको वर्तमान सरकारले औसत ७ प्रतिशतको आर्थिक वृद्धिका लागि पहिचान गरेका ४ क्षेत्रमा ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि रहेका छन् ।