
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको कुल १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
यसमध्ये ७ लाख ७८ हजार १२५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो सेयर’ बाट सहजै आवेदन दिन सक्नेछन् ।
यो निष्कासन छिटोमा २०८३ जेठ १ गते बैंकिङ समयपश्चात् बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले कुल निष्कासनमध्ये आयोजना प्रभावित स्थानीयका लागि ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।
यस्तै ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ ।
कम्पनीले ताप्लेजुङमा निर्माण गरिरहेको १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ को कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १४ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ भने साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ ।
कम्पनीको वित्तीय अवस्था र जोखिमलाई मध्यनजर गर्दै इक्रा नेपालले यसलाई ‘इक्रा एनपी–आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको सुरक्षा र मध्यम जोखिम रहेको बुझाउँछ ।
कम्पनीले यो आईपीओ जारी गर्नुको मुख्य उद्देश्य १८ करोड ७५ लाख रुपैयाँ बराबरको पुँजी संकलन गरी आफ्नो चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँ पुर्याउनु रहेको जनाएको छ । आईपीओबाट संकलित रकमलाई कम्पनीले मुख्य रूपमा बैंकबाट लिएको कर्जा चुक्ता गर्न र आफ्नो वित्तीय एवं आर्थिक गतिविधिहरूलाई थप विस्तार गर्न उपयोग गर्ने योजना बनाएको छ ।









प्रतिक्रिया