
काठमाडौं । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउन प्रशासनले आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच सक्रियता बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिएको अन्तिम समय सीमा सकिएसँगै अतिक्रमित क्षेत्र खाली गराउने र अनधिकृत घर(टहरा भत्काउने प्रक्रिया सुरु भएको हो ।
नदीको प्राकृतिक बहावमा अवरोध पुगेको र सहरी पूर्वाधार निर्माणमा समस्या उत्पन्न भएको भन्दै सरकारको निर्देशनमा प्रशासनले बस्ती हटाउन लागेको हो । यसअघि प्रशासनले गत शुक्रबार साँझ ७ बजेसम्म संरचना खाली गरिसक्न अन्तिम अल्टिमेटम दिएको थियो ।
उक्त समय सीमाभित्र पनि बस्ती खाली नभएपछि आज बिहानैदेखि सुरक्षा संयन्त्र परिचालन गरी डोजर चलाउने तयारी गरिएको छ ।
बस्ती खाली गराउनुअघि प्रशासनले सूचना जारी गर्दै स्थानीय बासिन्दालाई आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देशन दिएको छ ।
बस्ती हटाउने क्रममा हुनसक्ने सम्भावित तनाव र अवरोधलाई मध्यनजर गर्दै थापाथली क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । प्रशासनले सरकारी कार्यमा अवरोध सिर्जना गर्ने जोसुकैलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
अहिले थापाथली क्षेत्र तनावपूर्ण तर सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ भने अतिक्रमित क्षेत्रलाई पूर्ण रूपमा खाली गराई नदी किनारलाई पूर्ववत् अवस्थामा फर्काउने सरकारको योजना छ ।









प्रतिक्रिया