
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले युवा इन्जिनियरहरूसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ । प्राधिकरणले आफ्नो सेवालाई नवीनतम विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि र नवीन प्रयोगको सुरुवातका लागि यस्तो कार्यक्रमको सुरुवात गरिएको जनाएको छ ।
प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुवातसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्व जानकारी नदिइएको बताए ।
शाक्यले भने, ‘अध्ययनको समय नै नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो।’
यो कार्यक्रमले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम योजनाबारे सोच्न बल पुग्ने अपेक्षा गरिएको शाक्यको भनाइ छ ।
प्राधिकरणका प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने कुरामा केन्द्रित भएको थियो । प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको मागलाई धान्न नसक्ने प्राधिकरणको भनाइ छ । सोही कारण प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको शाक्यले बताए । छलफलबाट निस्किएका निष्कर्षहरूलाई छिट्टै कार्ययोजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया