
काठमाडौं । माछापोखरी क्षेत्रबाट सञ्चालन हुँदै आएका धादिङ तथा नुवाकोट गन्तव्यका बस तथा माइक्रोबसहरू हटाइएको छ।
मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनका अनुसार शुक्रबार वैशाख ११ देखि लागू हुने गरी ती सवारीसाधनहरू अब नयाँ बसपार्कबाट मात्रै सञ्चालन हुने व्यवस्था मिलाइएको हो।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क, नेपाल प्रहरी तथा महानगर प्रहरी बलको समन्वय र सहकार्यमा उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ। यसअघि माछापोखरी क्षेत्रबाट अनियमित रूपमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीलाई व्यवस्थापन गर्दै यातायात प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले यस्तो कदम चालिएको हो।
यससँगै माछापोखरी तथा बिजी मल आसपास क्षेत्रमा रहेका बसका टिकट काउन्टरहरू पनि हटाइएको ट्राफिक प्रहरीले जनाएको छ।
सम्बन्धित निकायले यात्रुहरूलाई अब धादिङ र नुवाकोट जानका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिन र यात्रा गर्न अनुरोध गरेको छ।









प्रतिक्रिया