
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया, बाराका निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवामा रहँदा पदीय दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति जोडेको पुष्टि भएपछि आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको जनाएको छ।
आयोगले यादवको सेवा प्रवेश अवधि २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो । सो अवधिमा यादवको पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, कृषि आय, तथा श्रीमती र छोराको आय समेत गरी कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा देखिएको छ ।
तर, सोही अवधिमा यादव परिवारको घर निर्माण, जग्गा तथा सेयर खरिद, सवारी साधन र अध्ययन लगायतका शीर्षकमा भएको खर्च एवं लगानी ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा पुगेको अनुसन्धानबाट खुलेको छ ।
यसरी वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च भएको र त्यसको स्रोत नखुलेकाले उक्त रकमलाई गैरकानुनी आर्जन मानिएको छ ।अख्तियारले अवैध रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै यादवकी श्रीमती निर्मला कुमारीलाई पनि प्रतिवादी बनाएको छ ।
आयोगले यादवसँग १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय र अवैध सम्पत्ति जफतको मागदाबी गरेको छ । साथै, झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा उनीमाथि थप सजायको समेत माग गरिएको छ ।









प्रतिक्रिया