
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) की प्रमुख प्रविन पन्दाकले राजनीतिक पहुँच र शक्तिको आडमा गैरकानुनी रूपमा पद ओगटेको भन्दै उनीविरुद्ध प्रधानमन्त्री कार्यालयको ‘हेलो सरकार’मा उजुरी दर्ता भएको छ ।
उजुरीमा उल्लेख भएअनुसार पन्दाकको नियुक्ति र उनले गरेका आर्थिक अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परे पनि राजनीतिक संरक्षणका कारण छानबिन नगरी उन्मुक्ति दिइएको छ ।
शेषगरी अख्तियार प्रमुख प्रेमकुमार राईसँगको साँठगाँठका कारण उनीमाथि कुनै कारबाही नभएको आरोप लगाइएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)की नवौँ तहकी कर्मचारी रहेकी पन्दाकलाई नेप्सेको नियमावली विपरीत एक वर्षभन्दा बढी समयदेखि सीडीएससीको प्रमुख पदमा काजमा राखिएको र उनले आफू कानुनभन्दा माथि रहेको दम्भ प्रस्तुत गर्ने गरेको विषयलाई पनि उजुरीमा गम्भीरतापूर्वक उठाइएको छ ।
पन्दाकले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि व्यापारी र व्यवसायीलाई अनावश्यक दुःख दिने, ब्ल्याकमेलिङ गर्ने तथा सामाजिक सञ्जालमा गैरजिम्मेवार पोस्टहरू गर्ने गरेको आरोप उजुरीकर्ताको छ ।
साथै, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी प्रावधान विपरीत ‘दोहोरो आइजीन’ को नाममा पुँजीबजारलाई बन्धक बनाएको र विदेशी लगानीकर्ताहरूलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गरेको उल्लेख छ ।
उनले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र मातृ कम्पनी नेप्सेको निर्देशनलाई समेत ठाडै अस्वीकार गर्दै ती निकायका पदाधिकारीलाई उल्टै दबाबमा राख्ने गरेको दाबी गरिएको छ ।
यति मात्र नभई, सरकारी निकायको प्रमुख जस्तो गरिमामय पदमा रहेर पन्दाकले राजनीतिक दलको प्रचारप्रसारमा समेत संलग्न भएको आरोप छ ।







प्रतिक्रिया