
काठमाडौं । चितवनको सौराहमा बनेको रोयल टुलिप होटल अब पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । केटीएम हस्पिटालिटीले चितवनमा निर्माण गरेको पाँचतारे होटलको निर्माण कार्य हालै सम्पन्न भएको हो ।
सन् २०२० मा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले सौराहमा ६५ वटा कोठाको सुविधाका साथ लक्जरियस होटल निर्माण गरेको छ । उक्त होटल ४.१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
सरोवर होटलसँग होटल व्यवस्थापनका लागि सम्झौता गरेको कम्पनीले लुभ्र होटल ग्रुपमार्फत सञ्चालन गर्नेछ ।
कम्पनीले रोयल टुलिप ब्रान्डमा होटल सञ्चालन गरिरहेको छ । होटलमा रेष्टुरेन्ट, जिम र फिटनेस सेन्टर, हेलिप्याड, हेल्थ क्लब, स्वीमिङ पुल र अन्य सुविधा छन् ।
उक्त होटल १ अर्ब ७४ करोड ९० लाख रुपैयाँमा निर्माण भएको अनुमान गरेको छ । कम्पनीले उक्त होटल आगामी साउनदेखि पूर्ण क्षमताका साथ सञ्चालन गर्ने उल्लेख गरेको छ । कम्पनीले यसअघि नै होटलको व्यावसायिक कारोबार गर्ने योजना बनाएको थियो । तर, जेनजी आन्दोलनका कारण होटल क्षेत्रमा प्रभाव पर्दा सञ्चालनमा ढिलाइ भएको उल्लेख छ ।
रामेश्वर साह अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २७ करोड ६२ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ करोड रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया