
एजेन्सी । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अल जजिरालाई उद्धृत गर्दै इरानको अमेरिकासँग नयाँ चरणको वार्ता गर्ने कुनै योजना नभएको बताएका छन् ।
वाशिङटनले सम्झौता कार्यान्वयनको सुरुदेखि नै यसको उल्लंघन गरेको उनले आरोप लगाएका छन् ।
प्रवक्ताले अघिल्लो कूटनीतिक वार्ताका क्रममा इरानमाथि भएका अमेरिकी आक्रमणहरूलाई तेहरानले बिर्सन नसक्ने पनि बताए । उनले इरानले आफ्नो राष्ट्रिय हितको रक्षा जारी राख्ने कुरामा जोड दिए ।
स्मरणीय रहोस्, २८ फेब्रुअरीमा सुरु भएको इरान विरुद्धको अमेरिकी–इजरायली युद्ध र गत वर्षको १२ दिने युद्ध दुवै इरान र अमेरिकाबीच इरानको आणविक कार्यक्रमबारे वार्ता भइरहेकै बेला सुरु भएका थिए ।
बागेईले अमेरिकी प्रस्तावहरू हचुवा र उसका मागहरू अवास्तविक रहेको बताए । तेहरानले अल्टिमेटममा विश्वास नगर्ने पनि उनले स्पष्ट पारे ।
तेहरानले अमेरिकाले राखेका शर्तहरू स्वीकार गरेन भने डोनल्ड ट्रम्पले इरानका नागरिक पूर्वाधारहरू नष्ट गरिदिने धम्की दिएका छन् ।
उनले आइतबार फक्स न्युजसँग कुरा गर्दै अमेरिकाले प्रस्ताव गरेको सम्झौता (जसमा हर्मुज जलयोजक पुनः खोल्ने र इरानसँग संवर्धित युरेनियम नहुने कुरा सुनिश्चित गर्ने विषय समावेश छ) एकदमै उचित र जायज सम्झौता भएको बताए ।
इरानले यो स्वीकार नगरेमा उनले इरानका हरेक पावर प्लान्ट र हरेक पुल ध्वस्त पार्ने चेतावनी दिए । इरानले अमेरिकाका यी चरम मागहरू मान्न अस्वीकार गरेको छ ।








प्रतिक्रिया