
काठमाडाैं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवाद र सम्पत्तिको स्रोतका विषयमा उठेका प्रश्नहरूमाथि तत्काल उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकको निर्णयलाई स्मरण गराउँदै कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोत र पारदर्शिताका सम्बन्धमा सार्वजनिक भएका विषयहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको हो । पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले यस्ता गम्भीर प्रश्नहरूको विश्वसनीय र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको स्पष्ट पारेको छ।
‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका हुनु स्वभाविक हो,’ विज्ञप्तीमा भनिएको छ ।
कांग्रेसले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावमुक्त बनाउनका लागि उपयुक्त वातावरण सुनिश्चित गरिनुपर्नेमा बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यसमा हुने कुनै पनि ढिलासुस्ती, प्रभाव वा ढाकछोपले सुशासन र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने,’ कांग्रेसले विज्ञप्ती जारी गर्दै भनेको छ ।
कांग्रेसले यो माग कुनै व्यक्ति वा दल विशेषप्रति लक्षित नभई समग्र राजनीतिक संस्कारमा सुधार ल्याउन र नैतिकताको राजनीतिलाई संस्थागत गर्नका लागि भएको दाबी गरेको छ ।
गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले बताएको छ । सम्बन्धित सम्पूर्ण आरोपहरूको सत्यतथ्य पत्ता लगाउन एक स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न कांग्रेसले माग गरेको हो ।
‘गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने स्वाभाविक आशंका उत्पन्न भएको छ र अनुसन्धानलाई पूर्ण रूपमा स्वतन्त्र र प्रभावविहीन बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्छ,’ कांग्रेसले भनेको छ, ‘यस विषयलाई ढिलासुस्ती गर्ने, प्रभावमा पार्ने वा ढाकछोप गर्ने कुनै पनि प्रयास गरिएमा त्यसले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुऱ्याउँछ।’








प्रतिक्रिया