इरानमा अमेरिकी जेट खसालिएपछि ह्वाइट हाउसमा खैलाबैला, ट्रम्पले सहयोगीहरूलाई हप्काए


एजेन्सी । इरानमा एउटा अमेरिकी जेट खसालिएपछि ह्वाइट हाउसभित्र ठूलो खैलाबैला मच्चिएको र अधिकारीहरूले उच्च जोखिमपूर्ण उद्धार मिसनको योजना बनाइरहँदा राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना सहयोगीहरूमाथि चिच्याइरहेका र उनलाई उक्त छलफलको कोठाबाट बाहिर राखिएको वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ ।

दुई अमेरिकी विमानचालक (एयरमेन) बेपत्ता भएको जानकारी ट्रम्पलाई गराइएपछि गुड फ्राइडेको दिन यो घटना घटेको थियो । रिपोर्टका अनुसार, उनले सेनालाई तुरुन्तै गएर उनीहरूलाई लिएर आउन माग गरे र इरानी भूभागभित्र सैन्य कारबाहीका जटिलताहरूका बाबजुद द्रुत कदम चाल्न दबाब दिए ।

अमेरिकी सेनाले दशकौंदेखि इरानमा स्थलगत रूपमा काम गरेको थिएन । यसले गर्दा अधिकारीहरूले कुनै पनि उद्धार प्रयास सुरु गर्नुअघि शत्रुतापूर्ण क्षेत्रमा कसरी प्रवेश गर्ने र इरानी सेनाको नजरबाट कसरी जोगिने भन्ने कुराको सूक्ष्म आकलन गर्नुपरेको थियो ।

ट्रम्पको अधैर्यले योजनामा अवरोध पुर्याउन सक्ने भन्दै चिन्तित सहयोगीहरूले उनलाई विस्तृत छलफलबाट बाहिर राखेका थिए । प्रशासनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि सहयोगीहरूले पलपलको जानकारी लिइरहे पनि मुख्य क्षणहरूमा मात्र राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।

यस घटनाले ट्रम्पमा जिमी कार्टरको पालामा भएको १९७९ को इरान बन्धक संकट दोहोरिने डर पनि पैदा गराएको थियो जसलाई उनले पहिले राजनीतिक विपत्ति भनेका थिए ।

‘तपाईंले जिमी कार्टरको पालामा हेलिकप्टर र बन्धकहरूका साथ के भएको थियो भनेर हेर्नुभयो भने त्यसले गर्दा उनीहरूले चुनाव हार्नुपरेको थियो,’ ट्रम्पले गत मार्चमा उक्त स्थितिलाई भद्रगोल भन्दै भनेका थिए ।

घटनापछि एक विमानचालकलाई छिट्टै उद्धार गरियो । दोस्रो विमानचालक भने २४ घण्टाभन्दा बढी समय शत्रुको क्षेत्रमा रहे र शनिबार ढिलो गरी उच्च जोखिमपूर्ण ढंगले उनको उद्धार गरियो । यसले ट्रम्प प्रशासनका लागि हुनसक्ने एउटा ठूलो राजनीतिक धक्कालाई टारेको छ ।

उद्धारको केही घण्टाभित्रै ट्रम्प फेरि आफ्नो आक्रामक रूपमा फर्किए । उनले सामाजिक सञ्जालमा हर्मुज जलयोजकका विषयमा इरानलाई कडा अपशब्द प्रयोग गर्दै चेतावनी दिए जसको भाषा र शैलीले निकै चर्चा पायो ।

आलोचकहरू भने ट्रम्पको यो दृष्टिकोणमा रणनीतिक तालमेलको अभाव रहेको बताउँछन् । कोरी शाकेले जर्नललाई बताएअनुसार, युद्धमैदानका उपलब्धिहरू विजयको स्पष्ट मार्गमा परिणत हुन सकेका छैनन् ।

यद्यपि, ह्वाइट हाउसले राष्ट्रपतिको कदमको बचाउ गरेको छ । प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प यस द्वन्द्वका क्रममा एक स्थिर र दृढ नेताका रूपमा रहेको बताएकी छन् ।