
एजेन्सी । उत्तर कोरियाले सोमबार क्लस्टर बम वारहेड (झुप्पा विस्फोटक पदार्थ) युक्त ब्यालिस्टिक मिसाइलहरूको परीक्षण प्रक्षेपण गरेको बताएको छ ।
यो यस महिनाको यस्तो दोस्रो परीक्षण हो जसले अमेरिका र दक्षिण कोरियाको रक्षा प्रणालीलाई भेदन गर्ने आफ्नो क्षमता विस्तार गर्ने उसको प्रयासलाई जोड दिएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएको यस रिपोर्टले आइतबार दक्षिण कोरिया, जापान र अमेरिकाले उत्तर कोरियाको पूर्वी तटमा पत्ता लगाएका धेरै ब्यालिस्टिक मिसाइल प्रक्षेपणहरूलाई संकेत गरेको देखिन्छ ।
केसीएनएले सार्वजनिक गरेका तस्बिरहरूमा उत्तर कोरियाली नेता किम जोङ उन र उनकी छोरी, दुवैले कालो छालाको ज्याकेट लगाएर तटीय अवलोकन विन्दुबाट धुवाँ छोड्दै पानीमाथि उडिरहेको मिसाइल हेरिरहेको देखिएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायले हालै किमकी छोरी (जसको नाम किम जु ए बताइएको छ) लाई किमको उत्तराधिकारी मान्न सकिने आकलन गरेको थियो ।
किमले क्लस्टर बम वारहेड र फ्य्राग्मेन्टेशन माइन वारहेड भएका पाँचवटा उन्नत ह्वासोङ–११ रा सतहबाट सतहमा प्रहार गर्ने ब्यालिस्टिक मिसाइलहरूको प्रक्षेपणको निरीक्षण गरेको केसीएनएले जनाएको छ ।
ती मिसाइलहरूले टापुमा रहेको एउटा लक्ष्यमा प्रहार गरेका थिए । केसीएनएका अनुसार, किमले प्रक्षेपणप्रति सन्तुष्टि व्यक्त गर्दै भने, ‘उच्च घनत्वको प्रहार क्षमता बढाउनु सैन्य कारबाहीमा महत्त्वपूर्ण छ ।’
यसै महिनाको सुरुमा गरिएको प्रक्षेपणमा उत्तर कोरियाले ह्वासोङ–११ का सतहबाट सतहमा प्रहार गर्ने ब्यालिस्टिक मिसाइलहरूको परीक्षण गरेको थियो । उसले यस मिसाइलले ६.५ देखि ७ हेक्टर क्षेत्रमा फैलिएको कुनै पनि लक्ष्यलाई खरानी बनाउन सक्ने दाबी गरेको थियो ।
उत्तर कोरियाले पहिले पनि क्लस्टर बम वारहेडहरूको परीक्षण गरिसकेको छ । तर, विश्लेषकहरूका अनुसार इरानको युद्धले उत्तर कोरियालाई आफूसँग क्लस्टर हतियारहरू रहेको देखाउन र अझ उन्नत हतियार विकास गर्ने प्रयासलाई तीव्रता दिन प्रेरित गरेको हुन सक्छ ।
जारी युद्धमा क्लस्टर हतियारको विनाशकारी रूप प्रस्ट भएको छ जहाँ इजरायलले आफ्नो हवाई रक्षा प्रणालीलाई चुनौती दिन इरानले यस्ता हतियार प्रयोग गरेको आरोप लगाएको छ ।
यी वारहेडहरू आकाशमा धेरै उचाइमा फुट्छन् र ठूलो क्षेत्रमा दर्जनौं साना बमहरू छर्छन्, जसलाई रोक्न निकै कठिन हुन्छ ।
१२० भन्दा बढी देशहरूले क्लस्टर हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेका छन् तर उत्तर कोरिया, इरान, इजरायल र अमेरिका ती देशहरूमा पर्दैनन् ।
सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको आणविक कूटनीति असफल भएदेखि उत्तर कोरियाले आफ्नो आणविक हतियार विस्तार गर्न र विभिन्न उच्च प्रविधियुक्त हतियारहरू प्राप्त गर्न जोड दिँदै आएको छ ।
तीमध्ये धेरै वारहेड भएका आणविक मिसाइलहरू, हाइपरसोनिक हतियारहरू र पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक मिसाइलहरू छन् जसको प्राप्तिले अमेरिका र दक्षिण कोरियाको मिसाइल रक्षा प्रणालीलाई विफल पार्ने उत्तर कोरियाको सम्भावनालाई निकै बढाउनेछ ।
ट्रम्पले किमसँगको कूटनीति पुनःस्थापना गर्ने इच्छा पटक–पटक व्यक्त गरेका छन् र उत्तर कोरियाली नेताले पनि हालै ट्रम्पसँग संवादको ढोका खुला राखेका छन् । तर उनले वाशिङटनलाई वार्ताको पूर्वशर्तका रूपमा उत्तर कोरियाको निःशस्त्रीकरणको माग छोड्न आग्रह गरेका छन् ।
ट्रम्प मे महिनामा चीनका राष्ट्रपति सी चिनपिङसँगको शिखर सम्मेलनका लागि बेइजिङ जाने कार्यक्रम छ । केही विश्लेषकहरूका अनुसार, उत्तर कोरियाको पछिल्लो परीक्षण गतिविधिहरू अमेरिकासँगको भविष्यको लेनदेनमा आफ्नो बार्गेनिङ शक्ति बढाउनका लागि हुन् किनकि ट्रम्प–सी भेटले प्योङयाङसँगको कूटनीतिक ढोका खोल्न सक्छ ।









प्रतिक्रिया