युद्ध लम्बिँदै गएपछि यूएईले अमेरिकासँग माग्यो वित्तीय सहयोग


एजेन्सी । संयुक्त अरब अमिरात (यूएई) ले इरानसँगको युद्धका कारण उत्पन्न हुन सक्ने गहिरो आर्थिक संकटबाट बच्न अमेरिकासँग वित्तीय सुरक्षाकवच प्राप्त गर्ने विषयमा छलफल सुरु गरेको छ ।

अमेरिकी अधिकारीहरूले आइतबार वाल स्ट्रिट जर्नललाई दिएको जानकारी अनुसार, तेलमा धनी यस खाडी मुलुकले सम्भावित संकट टार्न अमेरिकाको सहयोग चाहेको हो ।

यूएईका केन्द्रीय बैंकका गभर्नर खालिद मोहम्मद बलामाले गत साता वाशिङटनमा भएको भेटघाटका क्रममा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र फेडरल रिजर्भका अधिकारीहरूसँग करेन्सी स्वाप लाइन (मुद्रा विनिमय सुविधा) को प्रस्ताव राखेका छन् ।

अधिकारीहरूका अनुसार, यूएईले अहिलेसम्म द्वन्द्वको सबैभन्दा खराब आर्थिक असरहरूबाट जोगिन सफल भएको दाबी गरे पनि भविष्यमा वित्तीय लाइफलाइन आवश्यक पर्न सक्ने कुरामा जोड दिएको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणबाट सुरु भएको यो सात हप्ता लामो द्वन्द्वले विश्वव्यापी मुद्रास्फीतिको जोखिम बढाएको छ । यसले तेलको मूल्यमा प्रभाव पारिसकेको छ भने विश्वका धेरै ठाउँमा ऊर्जा संकट निम्त्याएको छ ।

हर्मुज जलयोजकमा भएको अवरोध र हवाई क्षेत्र बन्द हुनु जस्ता कारणले विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।

यूएई र अमेरिकाबीचको यस वार्ताले खाडी मुलुकको एउटा ठूलो डरलाई उजागर गरेको छ । यस युद्धले यूएईको अर्थतन्त्र र विश्वव्यापी वित्तीय केन्द्रको रूपमा यसको छविलाई ठूलो क्षति पुर्याउन सक्छ । यूएई आफ्नो घट्दो विदेशी मुद्रा सञ्चिति र लगानीकर्ताहरू पलायन हुन सक्ने कुरामा चिन्तित छ ।

अमेरिका, इजरायल र इरान संलग्न यो लामो द्वन्द्वले यूएईको तेल र ग्यास पूर्वाधारमा क्षति पुर्याएको छ र हर्मुज जलसन्धिबाट हुने ट्यांकरहरूको आवतजावतमा अवरोध सिर्जना गरेको छ । यसले युएईको डलर आम्दानीको मुख्य स्रोत नै काटिएको छ ।

यूएईका अधिकारीहरूले अमेरिकासँगको वार्तामा आफूहरूसँग डलरको अभाव भएमा तेल बिक्री र अन्य कारोबारका लागि चिनियाँ युआन वा अन्य देशका मुद्राहरू प्रयोग गर्न बाध्य हुने चेतावनी दिएका छन् । यसो भएमा यो विश्वव्यापी मुद्राको रूपमा रहेको अमेरिकी डलरको वर्चस्वका लागि एक अप्रत्यक्ष चुनौती हुनेछ किनकि तेलको कारोबार लगभग पूर्ण रूपमा डलरमा हुने गर्छ ।

सामान्यतया यस्ता स्वाप लाइनहरू अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) द्वारा व्यवस्थित गरिन्छन् । तर, फेडले यस्तो सुविधा बेलायत, क्यानडा, जापान, स्विजरल्यान्ड र युरोपेली संघ जस्ता नजिकका साझेदारहरूका लागि मात्र सुरक्षित राख्ने गर्छ ।

यूएईको अमेरिकी बजारसँगको सम्बन्ध यी देशहरूको तुलनामा कम भएकाले फेडले यसलाई स्वीकृत गर्ने सम्भावना कम रहेको केही अधिकारीहरूले बताएका छन् ।

तर, अमेरिकी अर्थ मन्त्रालयले फेडको स्वीकृति बिना नै अर्जेन्टिना जस्ता देशहरूलाई एक्सचेन्ज स्टेबिलाइजेसन फन्ड मार्फत यस्तै सुविधा उपलब्ध गराएको उदाहरण छ ।

यूएईको रक्षा मन्त्रालयका अनुसार, इरानले यूएई र अन्य खाडी मुलुकहरूलाई लक्षित गरी २८ सय भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको छ जसमध्ये अधिकांशलाई खसालिएको थियो । यूएईको मुद्रा दिराम डलरसँग स्थिर विनिमय दरमा जोडिएको छ ।

विश्लेषकहरूका अनुसार, युद्धका कारण पुँजी पलायनको जोखिम र सेयर बजारको अस्थिरताले दिराममाथि दबाब बढाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी एस एन्ड पी ग्लोबलले यूएईको वित्तीय लचकताले युद्धको असर विरुद्ध सुरक्षा दिने बताए पनि तेल निर्यातमा हुने लामो अवरोध र पूर्वाधारमा हुने क्षतिले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।

खाडी मुलुकहरूले पछिल्लो हप्ता लगानीकर्ताहरूबाट अर्बौं डलर ऋण उठाएका छन् । आबुधाबीले मात्रै यसै महिना गोल्डम्यान स्याक्स जस्ता बैंकहरूमार्फत करिब ४ अर्ब डलर ऋण उठाएको छ । बहराइनले पनि वित्तीय स्थिरता कायम गर्न यूएईसँग करिब ५ अर्ब डलरको स्वाप लाइन सम्झौता गरेको छ ।

साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले एक छलफलका क्रममा भनेका छन्, ‘अहिलेको अस्तव्यस्ततापछि ट्यांकरहरूको व्यवस्थापन गर्न र स्थिति सामान्य बनाउन कम्तीमा पनि जुन महिनाको अन्त्यसम्म लाग्नेछ । कसैले युद्ध तुरुन्तै रोकिए पनि अर्थतन्त्र छिट्टै सुध्रिन्छ भन्ने सोचेको छ भने उसले फेरि विचार गर्नुपर्छ ।’