रास्वपा बैठक: ९ बुँदे कार्यसूची सार्वजनिक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकका लागि नौबुँदे प्रस्तावित कार्यसूची सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता मणिष झाले सोमबार बस्ने बैठकका लागि उक्त कार्यसूची सार्वजनिक गरेका हुन् ।

उनका अनुसार बैठकमा संगठन, नीति तथा विधानसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा छलफल हुने छ । कार्यसूचीअनुसार बैठकको सुरुवात पार्टीका गतिविधिबारे विस्तृत ब्रिफिङबाट हुनेछ भने त्यसपछि केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ । सो क्रममा २० जना सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो धारणा प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । साथै, आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधिको मस्यौदामाथि छलफल गरिनेछ र पार्टी विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिने तयारी गरिएको छ ।

स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै उम्मेदवार क्लव गठन तथा आवेदन आह्वान गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ। त्यस्तै, विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार प्रदान गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

बैठकले सचिवालयका निर्णय अनुमोदन गर्नेछ भने विविध शीर्षकअन्तर्गत विभिन्न आयोग, निकाय र पदाधिकारीबाट प्राप्त पत्राचारमाथि पनि छलफल गरिनेछ। साथै, विषयगत विभागका योजना निर्माण तथा नीति मन्थनका लागि निर्देशन दिने र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिइने कार्यसूचीमा उल्लेख छ ।