
काठमाडौं । प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश जगद्गुरु रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन शाहको आलोचना गरेका छन् ।
जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणमा आएका उनले प्रधानमन्त्री बालेनको मन भारतविरोधी रहेको र उनीमा हिन्दुत्वप्रति कुनै प्रेम नदेखिएको गम्भीर आरोप लगाएका थिए ।
बालेनको कार्यशैली र रवैया राम्रो नभएको भन्दै उनले प्रधानमन्त्रीसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको टिप्पणी गरेका थिए ।
उनले बालेन युवा भएकाले उनलाई सम्झाउने कसले भन्दै प्रश्न समेत गरेका थिए ।
नेपाल भ्रमणका क्रममा रामभद्राचार्यले नेपाल पूर्ण रूपमा आत्मनिर्भर हुनुपर्ने र यहाँ चीन वा अमेरिकाको निर्भरता हुन नहुने धारणा राखेका थिए ।
उनले नेपालमा तीव्र रूपमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गर्दै मुलुकमा पुनः राजसंस्थाको आवश्यकता रहेको समेत बताए । भारत र नेपाल मिलेर एक महाशक्तिको उदय हुनुपर्ने उनको तर्क थियो, तर निर्वाचित प्रधानमन्त्रीमाथि उनले गरेको व्यक्तिगत र राजनीतिक टिप्पणीको भने आलोचना भएको छ ।
को हुन् रामभद्राचार्य ?
रामभद्राचार्य भारतका एक अत्यन्त प्रभावशाली र विद्वान आध्यात्मिक व्यक्तित्व हुन् । सन् १९५० मा उत्तर प्रदेशमा जन्मिएका उनले दुई महिनाको उमेरमै आफ्नो दृष्टि गुमाएका थिए । उनको बाल्यकालको नाम गिरिधर मिश्र हो ।
जन्मिएको दुई महिनामै ‘ट्रकोमा’ नामक आँखाको रोगका कारण उनले आफ्नो दृष्टि गुमाएका थिए । तर, उनले कहिल्यै ब्रेल लिपि वा अन्य कुनै भौतिक साधनको प्रयोग नगरी श्रवण शक्ति र स्मरणशक्तिका भरमा सम्पूर्ण ज्ञान हासिल गरे ।
उनले संस्कृत व्याकरण, दर्शन र वेदहरूमा उच्च शिक्षा हासिल गरेका छन् । उनलाई ‘बहुभाषाविद्’ मानिन्छ । किनकि उनले संस्कृत, हिन्दी, अवधी, मैथिली लगायत २२ वटा भाषाहरू बोल्न सक्छन् ।
सन् १९८८ मा उनलाई जगद्गुरु रामानन्दाचार्यको पद प्रदान गरिएको थियो । हिन्दू धर्ममा ‘जगद्गुरु’ को उपाधि केवल ती व्यक्तिहरूलाई दिइन्छ जसले प्रस्थानत्रयी (उपनिषद्, ब्रह्मसूत्र र भगवद्गीता) माथि भाष्य लेख्न सक्छन् ।
उनले चित्रकूटमा तुलसी पीठ नामक धार्मिक र सामाजिक सेवा केन्द्र स्थापना गरेका छन् । यो पीठ रामचरितमानस र गोस्वामी तुलसीदासको दर्शन प्रचारमा समर्पित छ ।
अयोध्याको राम जन्मभूमि मुद्दामा उनले दिएको पौराणिक र शास्त्रीय प्रमाणहरूलाई भारतको सर्वोच्च अदालतले पनि महत्वपूर्ण आधार मानेको थियो ।
उनले १०० भन्दा बढी पुस्तकहरू र महाकाव्यहरू लेखेका छन् । जसमा संस्कृत र हिन्दीका उत्कृष्ट रचनाहरू सामेल छन्।
उनले चित्रकूटमा विशेष रूपमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि विश्वकै पहिलो निजी विश्वविद्यालय स्थापना गरेका छन्।
भारत सरकारले उनलाई २०१५ मा पद्मविभूषण (भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान) बाट सम्मानित गरेको थियो ।
धार्मिक दृष्टिकोणले उनलाई ‘प्रज्ञाचक्षु’ भनिन्छ, जसको अर्थ ‘आँखा नभएर पनि बुद्धिको आँखाले संसार देख्ने व्यक्ति’ भन्ने हुन्छ । धेरै अनुयायीहरू उनलाई गोस्वामी तुलसीदासको पुनर्जन्मका रूपमा पनि श्रद्धा गर्छन् । उनी रामानन्द सम्प्रदायका वर्तमान आचार्य हुन् ।








प्रतिक्रिया