स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

140
Shares

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ३० वर्षीय आदेश कुमार चौधरीलाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो।

​सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले शंका लागेर जाँच गर्दा भारतको बिहार राज्य, अररिया जिल्ला जोबनी निवासी चौधरीसँग ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको हो।

उनको साथबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद भएको छ।

उनले सो रकम आफ्नो कपडाको गोजी र जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीको साथबाट रकमसँगै भारतीय मोटर साइकल, एक थान मोबाइल, एउटा घडी र दुई थान सुनको जस्तो देखिने औँठीसमेत बरामद भएको छ।

बरामद गरिएको रकमको स्रोत खुल्न नसकेको र सवारी साधनको दर्ता प्रमाणपत्र समेत साथमा नभएकाले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी मोरङमा बुझाइएको प्रहरीले जनाएको छ।

Skip This