पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको विधानविपरीत प्रेस विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चैत १४ गते जारी गरिएको अनधिकृत प्रेस विज्ञप्तिबारे सचेत गराउँदा-गराउँदै फेरि चैत ३० गते पनि अर्को अनधिकृत प्रेस विज्ञप्ति जारी गरेकाले नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

समितिले भनेको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८१/१२/१८ गतेको निर्णयअनुसार विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो । यसरी अनुशासन समितिबाट सचेत गराउँदा-गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेता पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गर्ने काम पार्टीको विधानविपरीत देखिएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तसम्म नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सोको समयावधि २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।’

त्यसैगरी बैठकले निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गर्ने सदस्यहरूमाथि उजुरी दिने समय पनि एक महिना थप गरेको छ । २०८२ साल चैत मसान्तभित्र उजुरी दिइसक्नुपर्ने पूर्व निर्णय भएकोमा सो उजुरीका लागि वैशाख मसान्तसम्म समय थप गर्ने निर्णय गरिएको पनि समितिले जनाएको छ ।

Skip This