कृषिमन्त्रीलाई दिएको खाजाको प्याकेटमै किरा भेटिएपछि…

0
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीलाई दिइएको खाजा प्याकेटमा किरा भेटिएको छ । त्रिपुरेश्वरको बागमती स्विट्सबाट आएको प्याकेटमा रहेको ड्राइफ्रुटमा किरा भेटिएको हो ।

किरा भेटिएपछि मन्त्री चौधरीको निर्देशनमा काठमाडौं–११, त्रिपुरेश्वरमा रहेको बागमती स्विट्स प्रालिको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।

गत चैत्र २९ गते वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्याक्रममा सो स्विट्स प्रालिको खाजा प्रदान गरिएको थियो।

मन्त्री चौधरीलाई दिइएको ड्राइफ्रुट्समा कीरा भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सो प्रालिमा अनुगमन गर्न मन्त्री चौधरीले निर्देशन दिएकी थिइन् । मन्त्री चौधरीले आफ्नो मात्रै खाने विषयमा नभई आम नागरिकको खाद्य स्वच्छताप्रति गम्भीर हुँदै कुनै पनि गुनासो आए कडा कारबाही गर्ने बताएकी छन् ।

विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको संयुक्त अनुगमनका क्रममा चैत्र ३० गते (सोमबार) सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि कानुन अनुसार विभागले उत्पादन रोक्का गरी कारबाही अघि बढाएको हो ।