
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउनदेखि चैत) सम्ममा सरकारले जम्मा ५३.९७ प्रतिशत मात्रै खर्च गरेको छ ।
सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेर ल्याएको बजेटबाट चैतसम्ममा १० खर्ब ५९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यस्तो खर्च कुल बजेटको ५३.९९ प्रतिशत मात्रै भएकाले आगामी तीन महिनामा सरकारको लक्ष्यअनुसार ९ खर्ब ५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने छ ।
९ महिना लगाएर सरकारले ५४ प्रतिशत मात्रै खर्च गरेकाले बाँकी तीन महिनामा ४६ प्रतिशत खर्च गर्नुपर्ने चुनौती छ ।
त्यसो त सरकारले चालू आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि हालसम्म जम्मा ८ खर्ब ८६ अर्ब रुपैयाँ अर्थात् ५९.८८ प्रतिशत मात्रै संकलन गरेको छ । यो लक्ष्यअनुसार सरकारले अझै तीन महिनामै ४० प्रतिशत राजस्व संकलनको लक्ष्य भेटाउनुपर्ने छ ।
सरकारको लक्ष्यअनुसार आम्दानी र खर्च हुन नसक्ने भएकै कारण अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले वार्षिक बजेट परिमार्जन गरेको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटलाई जेनजी आन्दोलनपछिका अर्थमन्त्री रामेश्वर खनालले १६ खर्ब ८८ अर्ब रुपैयाँमा झारे । सरकारले २ खर्ब ७६ अर्ब रुपैयाँ बजेट खर्च नहुने भनेर घटाइसकेको भए पनि अझै ९ खर्ब खर्चन भने सकस नै छ ।
सरकारले यो अवधिसम्ममा जम्मा २३.५८ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ । सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको भए पनि हालसम्म ९६ अर्ब रुपैयाँ मात्रै खर्च भएको तथ्यांकले देखाएको छ ।
चैतसम्ममा सरकारको जम्मा आम्दानी ९ खर्ब ७ अर्ब रुपैयाँ छ भने यो अवधिसम्मको खर्च १० खर्ब ५९ अर्ब रुपैयाँ छ । सरकारको आम्दानी र खर्चको तुलनामा डेढ खर्ब रुपैयाँको बजेट घाटा देखिएको छ ।








प्रतिक्रिया