नर्भिक अस्पताल ३४ औं वर्षमा प्रवेश: ३३ वर्षमा झण्डै ५० लाख बिरामीले लिए सेवा

0
Shares

काठमाडौं । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेशनल अस्पताल वैशाख १ गतेदेखि स्थापनाको ३३ वर्ष पुरा गरी ३४ औं वर्षमा प्रवेश गर्दैछ । ३३ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले शनिबार प्रभातफेरी तथा रक्तदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

अस्पतालका मुख्य कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार स्थापनाकालदेखि हालसम्मको ३३ वर्षको अवधिमा नर्भिकले झण्डै ५० लाख बिरामीलाई सेवा प्रदान गरिसकेको छ । उच्चस्तरीय प्रविधि र दक्ष जनशक्तिको संयोजनले गर्दा नर्भिक स्वदेशी तथा विदेशी नागरिकका लागि विश्वसनीय गन्तव्य बनेको उनले बताए । हालसम्म सातै महादेशका ४० भन्दा बढी मुलुकका नागरिकले यहाँबाट उपचार सेवा लिइसकेका छन् ।

नर्भिकले आफ्नो सेवा विस्तारका लागि अत्याधुनिक ८ तले नयाँ भवन निर्माण गरिरहेको छ, जुन अन्तिम चरणमा पुगेको छ । नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको क्षमता ३०० शय्या पुग्नेछ ।

सन् २०२१ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको नर्भिकले सर्वसाधारणका लागि २० प्रतिशत साधारण शेयर निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाएको छ । यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । आगामी दिनमा ‘नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट’ स्थापना गर्ने योजना समेत अस्पतालको छ ।

पछिल्लो एक वर्षमा नर्भिकले धेरै जटिल स्वास्थ्य समस्याहरूको सफल उपचार गरेर इतिहास रचेको छ । जसमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’, मुटुको नसामा क्याल्सियम जमेकाहरूको लागि ‘अर्बिटल एथेरेक्टोमी’ र मस्तिष्कको बाइपास सर्जरी प्रमुख रहेका छन् । यस्तै, फोक्सोको समस्या पत्ता लगाउने ‘इबस’ प्रविधि र मेरुदण्डको बिना चिरफार गरिने शल्यक्रिया पनि अस्पतालले सफलतापूर्वक सुरु गरेको छ ।

अस्पतालले आकस्मिक सेवालाई थप प्रभावकारी बनाउँदै काठमाडौं चक्रपथभित्र १० मिनेटमै एम्बुलेन्स पुग्ने र गम्भीर बिरामीका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । दुर्गम क्षेत्रका बिरामीका लागि हेलिकोप्टर उद्धार सेवा समेत सञ्चालनमा छ ।

नर्भिकले बिरामीको सहजताका लागि छुट्टै मोबाइल एप सञ्चालनमा ल्याएको छ, जहाँबाट डिजिटल प्रेस्क्रीप्सन र ल्याब रिपोर्ट हेर्न सकिन्छ । साथै, उत्कृष्ट नर्सहरूलाई सम्मान गर्न डेजी फाउन्डेसनसँग सहकार्य सुरु गरिएको छ ।

सन् १९९३ मा ‘नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टर’को रूपमा स्थापना भएको यो अस्पतालले सन् १९९८ मा हार्ट कमाण्ड सेन्टर, २००२ मा नेपालकै पहिलो क्याथ ल्याब र २०२१ मा जेनेटिक ल्याबसहितको आईभीएफ सेवा सुरु गरेको थियो । हाल अस्पतालले मिर्गौला प्रत्यारोपणसहित मल्टिस्पेसियालीटी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी थापाथलीबाट सुरु भई त्रिपुरेश्वर, सुन्धारा, वसन्तपुर हुँदै पुन: अस्पताल परिसरमा पुगेर समापन भएको थियो भने दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।