
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो चल–अचल सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।
भ्रष्टाचार निवारण ऐन बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको विवरण अनुसार मन्त्री वादीको नाममा भन्दा बढी सम्पत्ति उनका श्रीमानको नाममा छ ।
विवरण अनुसार मन्त्री वादीको काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ मा ससुरा सुन्दर पुर्कुटीको नाममा एउटा पक्की घर रहेको छ । उक्त घर पुर्ख्यौली सम्पत्ति भएको उल्लेख गरिएको छ ।
यस्तै, मन्त्री वादीको नाममा सुर्खेतमा जग्गा रहेको छ भने श्रीमान सुरेश सुकुटीको नाममा नुवाकोट जिल्लामा जग्गा रहेको विवरणमा उल्लेख छ । मन्त्री वादीसँग नगद ५१ हजार रुपैयाँ, विवाहमा पाएको सुन १८ तोला र चाँदी १५ तोला छ ।
उनी र श्रीमानको नाममा एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख रुपैयाँ मौज्दात छ । मन्त्री वादी र उनका श्रीमानको नाममा विभिन्न कम्पनीको ५ हजार ६ सय कित्ता सेयर रहेको छ ।
विवरणमा मन्त्री वादीको नाममा ३ लाख ३० हजार मूल्य पर्ने एउटा स्कुटर र श्रीमानको नाममा २ लाख ६० हजार मूल्यको पल्सर मोटरसाइकल रहेको खुलाइएको छ । विशेष कुरा के छ भने मन्त्री वादीले आफ्नो कृषि विवरणमा घरमा २० वटा कुखुरा र एउटा कुकुर पालेको समेत उल्लेख गरेकी छन् ।








प्रतिक्रिया