
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग दुई साताको युद्धविराममा सहमति जनाएपछि मंगलबार अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट आएको छ ।
युद्धविरामको सहमतिसँगै महत्वपूर्ण होर्मुज जलमार्ग खुल्ने आशा बढ्दा तेलको मूल्य घटेको हो ।
यद्यपि विश्लेषकहरूले हर्मुजको प्रभावकारी नाकाबन्दी अन्त्य हुने कि नहुनेबारे अझै अन्योल रहेको बताएका छन् ।
अमेरिकी कच्चा तेल कारोबार १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल पुगेको छ, जुन युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै उच्च हो ।
विश्व मापदण्ड मानिने ब्रेन्ट कच्चा तेल पनि १३.७५ प्रतिशत घटेर ९४.६८ डलरमा झरेको छ ।
तेल मूल्य घटेसँगै अमेरिकी सेयर बजारका भविष्य कारोबार र एशियाली बजारहरूमा उछाल आएको छ ।
डाउ जोन्स कारोबार १,००० अंकभन्दा बढी (करिब २.२ प्रतिशत) बढेको छ भने एस एन्ड पी ५०० कारोबार २.४ प्रतिशत र नास्ड्याक कारोबार करिब ३ प्रतिशतले उकालो लागेको छ ।
बुधबार बिहान जापानको निक्केइ ४.९ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशत र हङकङको ह्याङ सेङ सूचकांक २.८ प्रतिशतले उकालो लागेको छ।
र्यापिडान ऊर्जा समूहका अध्यक्ष बब म्याकनालीले बजार सकारात्मक समाचारको प्रतीक्षामा भए पनि होर्मुज पूर्ण रूपमा खुल्छ कि खुल्दैन भन्ने मुख्य प्रश्न अझै बाँकी रहेको बताएका छन् र वाशिङ्टन र तेहरानबीच यस विषयमा स्पष्ट समझदारी नदेखिएको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गरे पनि इरानले भने यो अस्थायी मात्र भएको स्पष्ट पारेको छ र सर्वोच्च नेताको आदेशअनुसार मात्रै गोलीबन्दी हुने जनाएको छ ।
बी. राइली वित्तीय संस्थाका बजार रणनीतिकार आर्ट होगनका अनुसार तेल मूल्य घट्नु र सेयर बजार बढ्नुले लगानीकर्ताहरू होर्मुज खुलोस् र द्वन्द्व अन्त्य होस् भन्ने स्पष्ट संकेत दिएको छ ।
ट्रम्पले आफ्नो निर्धारित समयसीमाभन्दा दुई घण्टा अगाडि युद्धविराममा सहमति जनाएका थिए र यसको मुख्य सर्त होर्मुज पुनः सञ्चालनमा आउनु रहेको बताएका छन् । उनले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताका लागि उपयुक्त आधार मानिएको बताएका छन् ।
मध्यपूर्वमा जारी युद्ध र होर्मुजको प्रभावकारी बन्दले दैनिक १२ देखि १५ मिलियन ब्यारेल कच्चा तेल आपूर्तिमा असर पार्दै इतिहासकै ठूलो आपूर्ति धक्का सिर्जना गरेको छ । तर इरानले हर्मुजमार्फत आवतजावत नियन्त्रण गर्ने दाबी गरेकाले यसको पूर्ण सञ्चालनबारे अझै अनिश्चितता कायम छ, जसले उसलाई विशेष आर्थिक तथा भूराजनीतिक प्रभाव दिने बताइएको छ ।
विज्ञहरूका अनुसार युद्धविरामले तत्काल अवस्थालाई केही सहज बनाए पनि दीर्घकालीन असर र समाधानबारे अझै स्पष्टता आउन समय लाग्नेछ।








प्रतिक्रिया