
काठमाडौं । गत आर्थिक वर्षमा बजारमा सिमेन्टको माग बढ्दा देशभरका १० वटा कम्पनीको व्यापार समग्रमा ४९ प्रतिशतले बढेको छ । १० कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४९ प्रतिशतले बढेको पाइएको हो ।
देशभर सञ्चालनमा रहेका ५५ वटा सिमेन्ट उद्योगमध्ये रेटिङमार्फत तथ्यांक संकलन गरिएका १० वटा कम्पनीको विवरणअनुसार गत आर्थिक वर्षमा सिमेन्टको माग सकारात्मक देखिएको छ । ती कम्पनीहरूले गत आवमा २९ अर्ब ४२ करोड ९० लाख रुपैयाँको कारोबार गरेका छन् । कम्पनीहरूले सन् २०२४ मा १९ अर्ब ७४ करोड ४० लाख रुपैयाँको मात्र कारोबार गरेका थिए ।
कम्पनीहरूका अनुसार गत आवमा निर्माण क्षेत्र चलायमान हुँदा व्यापार सकारात्मक देखिएको हो । रेटिङबाट संकलित तथ्यांकले पनि सिमेन्टको माग बढ्नाले अधिकांश कम्पनीको कारोबार बढेको स्पष्ट पार्छ ।
गत आवमा सर्वोत्तम सिमेन्टले ९ अर्ब ५४ करोड ४० लाख रुपैयाँ, घोराही सिमेन्टले ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ, सम्राट सिमेन्टले ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँ, ब्रिज सिमेन्टले १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ र सप्तकोशी सिमेन्टले १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन् ।
त्यस्तै, भूगर्भ सिमेन्टले गत आवमा १ अर्ब ६७ करोड रुपैयाँ, कस्मस सिमेन्ट इन्डस्ट्रिजले १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ, अम्बे सिमेन्टले १ अर्ब २८ करोड ९० लाख रुपैयाँ, महाशक्ति सिमेन्टले १ अर्ब २५ करोड ५० लाख रुपैयाँ र नेपाल शालिमार सिमेन्टले ९४ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।
सर्वोत्तम सिमेन्टको व्यापार ४८.५९ प्रतिशतले वृद्धि
सर्वोत्तम सिमेन्टको व्यापार गत आवमा ४८.५९ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ९ अर्ब ५४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ६ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा ५ अर्ब ३९ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यसैगरी, कम्पनीले चालु आवको ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको तीन महिनाको अवधिमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवमा १ अर्ब २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सन् २०१० मा स्थापना भएको यो कम्पनी २०१९ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीले विभिन्न प्रकारका सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले क्लिंकर र सिमेन्ट दुवै उत्पादन गर्दछ । कम्पनीले सुरुमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताका साथ उद्योग निर्माण गरेको थियो । हाल उद्योगले वार्षिक १० लाख मेट्रिक टन क्लिंकर र ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ ।
सौरभ ग्रुपद्वारा सञ्चालित यस कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी ‘सर्वोत्तम’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी सर्वोत्तम होल्डिङ प्रालिको सहायक सिमेन्ट कम्पनी हो । होल्डिङले देशका विभिन्न तीन स्थानमा ग्राइन्डिङ उद्योग सञ्चालन गर्दै आएको छ । साथै, होल्डिङका दुई वटा माइनिङ कम्पनी पनि छन् ।
घोराही सिमेन्टको व्यापार १४.५४ प्रतिशतले वृद्धि
घोराही सिमेन्ट इन्डस्ट्रिजको व्यापार गत आवमा १४.५४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा ९१ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीका अनुसार गत आवदेखि कारोबारमा सुधार हुँदै गएको छ । कम्पनीले गत आव र सन् २०२४ मा भने खुद घाटा व्यहोरेको थियो ।
सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको हो । त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीको अध्यक्ष आदित्य संघाई हुन् । दाङमा रहेको उद्योगले क्लिंकर, ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा विरेन्द्रकुमार संघाई र गोविन्दलाल संघाईको १०/१० प्रतिशत स्वामित्व छ ।
सम्राट सिमेन्टको व्यापार १४७ प्रतिशतले वृद्धि
चौधरी (सीजी) ग्रुपको सम्राट सिमेन्ट कम्पनीको व्यापार १४७ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीका अनुसार गत आवमा व्यापार ‘रिबाउन्ड’ हुँदै गएको छ । कम्पनीले गत आवमा उच्च परिमाणमा सिमेन्ट बिक्री गर्दा व्यापार सुधारिएको उल्लेख गरेको छ ।
कम्पनीले गत आवमा ४ लाख ३१ हजार ९ सय २८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको छ । सन् २०२४ मा २ लाख १९ हजार ७ सय ६० मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । त्यसैगरी, गत आवमा कम्पनीले ६६ हजार २ सय २६ मेट्रिक टन क्लिंकर बिक्री गरेको थियो भने सन् २०२४ मा ९ हजार २ सय ५० मेट्रिक टन मात्र क्लिंकर बिक्री गरेको थियो ।
कम्पनीका अनुसार गत आवमा सिमेन्टको मूल्य वृद्धि भएको छ । गत आवमा कम्पनीले प्रतिबोरा सिमेन्टको औसत मूल्य ४ सय ४० रुपैयाँ तोकेको थियो, जबकि सन् २०२४ मा प्रतिबोरा ३ सय ८८ रुपैयाँ थियो । त्यस्तै, कम्पनीले गत आवमा ३४.७३ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा नाफा २१.4१ प्रतिशत थियो ।
सन् २०१३ मा स्थापना भएको यस कम्पनीले दैनिक ३ हजार ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले सन् २०२१ देखि दैनिक ४ हजार मेट्रिक टन क्षमतामा क्लिंकर उत्पादन सुरु गरेको हो । व्यवसायिक कारोबार सुरु गर्न उद्योग निर्माणमा १३ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो ।
कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गरी गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, सम्राट र सम्राट प्रिमियम ब्रान्डमा बिक्री गर्दै आएको छ । सीजी ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा निर्भाणा चौधरी र बरुण चौधरी निर्देशक छन् भने ७६ प्रतिशत स्वामित्व सीजी ग्रुपको छ ।
ब्रिज सिमेन्ट इन्डस्ट्रिजको व्यापार १५ प्रतिशतले वृद्धि
ब्रिज सिमेन्टको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँको व्यापार गरेकोमा गत आवमा १ अर्ब ९८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००२ मा स्थापना भएको यस कम्पनीसँग दैनिक १२ सय टन क्षमतामा ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्ने इजाजतपत्र छ । कम्पनीमा पाँच जनाको स्वामित्व छ । केडिया अर्गनाइजेसनको ५० प्रतिशत र बाँकी स्वामित्व भारतीय कम्पनी शान्त सिमेन्टको छ ।
कम्पनीले ओपीसी सिमेन्ट दुई वटा ब्रान्ड, पीपीसी सिमेन्ट पाँच वटा ब्रान्ड र पीएसजी सिमेन्ट एउटा ब्रान्डमा उत्पादन गरी बिक्री गर्दै आएको छ । कम्पनीले ग्राइन्डिङ सिमेन्टसँगै क्लिंकर पनि उत्पादन गर्दछ । कम्पनीले गत आवमा ५० प्रतिशत क्लिंकर खरिद गरी आपूर्ति गरेको थियो ।
सप्तकोशी सिमेन्टको व्यापार २७ प्रतिशतले वृद्धि
सप्तकोशी सिमेन्टको व्यापार २७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ३३ करोड ४० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२३ मा कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
गत आर्थिक वर्षमा सिमेन्ट बिक्री बढ्दा व्यापार सकारात्मक रहेको रेटिङमा उल्लेख छ । कम्पनीले गत आवमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि सन् २०२४ मा ९० लाख रुपैयाँ मात्र नाफा थियो ।
सन् १९९६ मा स्थापना भएको यो कम्पनी सन् २०२४ को सेप्टेम्बरमा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले दैनिक ६ सय टन ओपीसी सिमेन्ट उत्पादन गर्दछ । कम्पनीको आफ्नै क्लिंकर उद्योग नभएकाले अन्य उद्योगबाट क्लिंकर खरिद गरी आपूर्ति गर्दै आएको छ ।
भूगर्भ सिमेन्टको व्यापार २० प्रतिशतले वृद्धि
भूगर्भ सिमेन्टको व्यापार २० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा १ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको कुल नगद सञ्चिति ११ करोड ६० लाख रुपैयाँ रहेको छ ।
सन् २०१६ मा स्थापना भएको यो कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीको आफ्नै माइनिङ उद्योग छ, जसले दैनिक ३२ सय मेट्रिक टन क्षमतामा उत्खनन गर्दछ । कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट गरी दैनिक ७ सय मेट्रिक टन उत्पादन गर्दछ । त्यस्तै, कम्पनीले दैनिक ३ सय मेट्रिक टन क्षमताको क्लिंकर उद्योग पनि सञ्चालन गरिरहेको छ ।
कस्मस सिमेन्ट इन्डस्ट्रिजको ७३ प्रतिशतले वृद्धि
कस्मस सिमेन्ट इन्डस्ट्रिजको व्यापार ७३ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ८९ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले कारोबारबाट २८ प्रतिशत नाफा कमाएको छ, जुन पछिल्लो ५ वर्षकै सबैभन्दा बढी हो । सन् २००० मा स्थापना भएको यस कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन गरी बिक्री गर्दछ । कम्पनीले वार्षिक ३ लाख मेट्रिक टन क्लिंकर र ३ लाख ९० हजार मेट्रिक टन ग्राइन्डिङ सिमेन्ट उत्पादन क्षमता राख्दछ ।
सात जनाको स्वामित्व रहेको यस कम्पनीले ओपीसी सिमेन्ट ‘तेज गोल्ड सिमेन्ट’ ब्रान्डमा र पीपीसी सिमेन्ट ‘तेज सिमेन्ट’ तथा ‘कस्मस सिमेन्ट’ ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीको सिमेन्ट विशेषगरी कोशी र मधेस प्रदेशमा बढी बिक्री हुने गरेको छ।
अम्बे सिमेन्टको व्यापार ७२६ प्रतिशतले वृद्धि
अम्बे सिमेन्टको व्यापार ७२६ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १५ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ५७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
गत आवमा व्यापार ‘रिबाउन्ड’ भएको कम्पनीले जनाएको छ । उत्पादन क्षमताको उच्च उपयोग र मूल्य वृद्धिका कारण व्यापार बढेको हो । कम्पनीले गत आवमा २ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ, जबकि सन् २०२४ मा ९ करोड ३० लाख रुपैयाँ खुद घाटा थियो । घाटा भए पनि कम्पनीको नगद सञ्चिति सकारात्मक छ । सन् २०२४ मा कुल नगद सञ्चिति २ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
सन् २००४ मा स्थापना भएको यस कम्पनीले दैनिक एक हजार मेट्रिक टन क्षमतामा ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्दछ । कम्पनीले पीपीसी, ओपीसी र पीएससी सिमेन्ट १० वटा ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीको अध्यक्ष शोभाकर न्यौपाने हुन्।
महाशक्ति सिमेन्टको व्यापार ३३.३६ प्रतिशतले वृद्धि
महाशक्ति सिमेन्टको व्यापार ३३.३६ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ अर्ब २५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ९४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले चालु आवको ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । पछिल्लो दुई वर्षमा कारोबार १४.२२ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ३० प्रतिशत नाफा कमाएको छ र कम्पनीको कुल नगद सञ्चिति ११ करोड २० लाख रुपैयाँ रहेको छ ।
सन् २०२३ मा तीन वटा कम्पनीहरू महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम. जयपी सिमेन्ट मर्ज भई यो संस्था बनेको हो । कपिलवस्तुमा रहेको उद्योगले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दछ । कम्पनीमा श्यामप्रसाद पौडेलको ९ प्रतिशत तथा हरिबहादुर भण्डारी र पारस अधिकारीको ८/८ प्रतिशत स्वामित्व छ । कम्पनीको अध्यक्ष सुन्दर पाठक हुन् ।
नेपाल शालिमार सिमेन्टको व्यापार ४९.६० प्रतिशतले वृद्धि
नेपाल शालिमार सिमेन्टको व्यापार ४९.६० प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२४ मा ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ६ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
आर्थिक सुस्तताका कारण पछिल्ला वर्षहरूमा व्यापारमा कमी आए पनि गत आवमा व्यापार र नाफा केही बढेको छ ।
कम्पनीको चालु पुँजी इन्टेन्सिटी विगतदेखि नै उच्च छ । सन् २०२४ मा ६३ प्रतिशत रहेको खुद चालु पुँजी र सञ्चालन आम्दानीको अनुपात गत आवमा ३१ प्रतिशतमा झरेको छ ।
सन् २००३ मा स्थापना भएको यस कम्पनीले वार्षिक ५ लाख ४५ हजार मेट्रिक टन ग्राइन्डिङ सिमेन्ट उत्पादन गर्दछ । शालिमार ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा ग्रुपका ५ जनाको स्वामित्व छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट ७ वटा ब्रान्डमा र पीएसजी सिमेन्ट ८ वटा ब्रान्डमा उत्पादन गरी बिक्री गर्दै आएको छ ।








प्रतिक्रिया