
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया सुरु भएकाे छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थमन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका छन् ।
उक्त समितिमा मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यको रूपमा समावेश गरिएको छ । बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्न अर्थ मन्त्रालयले उच्चस्तरीय बजेट लेखन समिति बनाएको हो । यो समिति वर्षेनी बजेट निर्माण अगाडि बनाउनुपर्ने नियमित प्रक्रिया पनि हो ।
समितिका सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।
यस समितिलाई आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव प्रदान गर्ने र आयोजनाहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी सुम्पिएको छ।
संघीय संसद्मा प्रस्तुत गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा अर्थमन्त्रीले सदनमा पेश गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा लेखन कार्यसमेत यसै टोलीले सम्पन्न गर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया